सिमा नाकामा अलपत्र परेका नेपालीहरुलाई प्रवेश गर्न दिने सरकारको निर्णय

पत्रपत्रिकाबाट

मंगलबार, ११ चैत्र २०७६, ०७ : ०९
सिमा नाकामा अलपत्र परेका नेपालीहरुलाई प्रवेश गर्न दिने सरकारको निर्णय

काठमाडौं । विश्वभरि नै फैलिरहेको कोरोना संक्रमणको सन्त्रासपछि भारत र चीनतर्फका सबै नाका बन्द गराएको सरकारले नाकामा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश भित्रिन दिने भएको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलको संयोजकत्वको समितिले नाकामा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश आउन दिने निर्णय गरेको हो । भारतका विभिन्न नाकामा र्सैयौंको संख्यामा नेपालीहरु अलपत्र परेका छन् । 

यसरी आउँदा अलपत्र परेका व्यक्तिले आफू नेपाली नागरिक भएको पुष्टि हुने कागजपत्र पेस गर्नुपर्नेछ भने उनीहरूले स्वास्थ्य जाँचपछि मात्रै प्रवेश पाउनेछन् । यसरी नेपाल भित्रिएपछि पनि उनीहरू १४ दिनसम्म सरकारले तोकेको क्वारेन्टाइनमा सुरक्षित रूपमा बस्नुपर्नेछ ।

सरकारले सोमबार बिहान १० बजेदेखि चीन र भारत दुवैतर्फ यात्रु आवगमन रोक्ने गरी नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय लिएको थियो । सरकारको सो निर्णयपछि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्नेहरू सीमा नाकामा आएर बसिरहेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव केदारनाथ शर्माले सीमा क्षेत्रमा आएर अलपत्र परेका आफ्ना नागरिकलाई सबै सुरक्षा अपनाएर प्रवेश गर्न दिइने जानकारी दिए । ‘सीमामा आएर अलपत्र परेका छौं भन्दा आउन नदिने भन्ने होइन, मानवीयता पनि हेर्नुपर्छ तर यसरी प्रवेश दिइँदा सुरक्षाका सबै उपाय अवलम्बन गरिन्छ । प्रक्रिया पु(याएर मात्र आउन पाइन्छ,’ गृह प्रवक्ता शर्मालेसँग भने ।

सरकारले यसरी आउनेहरूलाई कोरोना संक्रमणको रोकथामका लागि निर्माण गरिएका देशभरको क्वारेन्टाइनमा राख्नेछ । क्वारेन्टाइनमा बसेका बेला उनीहरू सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको निगरानीमा रहनेछन् ।

सरकारले सोमबारबाटै लामो दूरीका सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइसकेको छ । काठमाडौं उपत्यकाभित्र छोटो दूरीका सार्वजनिक यातायात चलाउन पाउने तर बाहिर जाने लामो दूरीका सवारीलाई भने रोक लगाइएको हो । तर, जिल्लाभित्र भने छोटो दूरीका स्थानीय सार्वजनिक यातायात चल्न पाउनेछन् । यता सरकारले ७७ वटै जिल्लामा लकडाउन गरेपछि सर्वसाधारणहरु घरमै बस्न बाध्य छन् । अत्यावश्यक बाहेकका कलकारखाना, बजार, पसल सबै ठप्प जस्तै बनेको छ । 

प्रतिक्रिया दिनुहोस