गण्डकी प्रदेशमा भोलिदेखि नाकाबन्दी

सफल खबर संवाददाता

सोमबार, १० चैत्र २०७६, १७ : ४३
गण्डकी प्रदेशमा भोलिदेखि नाकाबन्दी

पोखरा । गण्डकी प्रदेशमा नाकाबन्दी गरिने भएको छ । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका प्रदेशमा छिर्ने सबै नाका बन्द गरी अत्यावश्यक सेवाका सवारीसाधनमात्र प्रवेश हुने भएका छन् ।

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नका लागि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा गठित उच्चस्तरीय निर्देशक समितिको सोमवार बसेको प्रथम बैठकले मंगलवार बिहानदेखि गण्डकी प्रदेशका सबै नाका १ साताका लागि बन्द गरी सुरक्षा व्यवस्था अपनाइने निर्णय गरेको हो ।

बैठकमा निर्णय सार्वजनिक गर्दै गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले भने, ‘गण्डकीमा अत्यावश्यकीय मालबाहक सामानबाहेक सर्वसाधारणलाई प्रदेश प्रवेश गर्ने नाकामा रोक्ने निर्णय भएको छ ।’

गण्डकीमा विभिन्न ११ जिल्ला पर्दछन् । जसमा कास्कीसहित स्याङ्जा, लमजुङ, गोरखा, पर्वत, तनहुँ, मनाङ, मुस्ताङ, नवलपुर, म्याग्दी र बागलुङ जिल्ला पर्दछन् । प्रदेश छिर्ने मुख्य नाकामा पृथ्वी राजमार्गको आँबुखैरेनी, सिद्धार्थ राजमार्गको रामदी, मुस्ताङको कोराला, त्रिवेणी, दाउन्ने, गैंडाकोट, आरुघाट, कोराला लगायत छन् ।

ती नाकाबाट अत्यावश्यक मालबाहक सामान, अस्पतालमा प्रयोग हुने सामग्री, दूध, पानी, लगायतका सवारीसाधन भने प्रवेश गर्न सक्ने भएपनि अन्य बन्द हुनेछन् ।

अस्पतालमा ओपीडी सेवा बन्द गरी इमर्जेन्सी सेवा मात्र सञ्चालन गर्ने र ‘हेल्लो डाक्टर’ कार्यक्रम प्रभावकारी बनाउँदै लैजाने समेत निर्णय भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले हेल्लो डाक्टरको लागि हाल प्रयोग गरेको ०६१–५२४०७४ मा फोन गरेर थप जानकारी लिन सक्नेछन् ।

कोरोनाको सम्बन्धमा त्यहाँँ बिहान ८ देखि बेलुका ५ बजेसम्म फोन गरेमा सम्बन्धित डाक्टरले आवश्यक परामर्श दिने जनाइएको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नगरबासीलाई सुरक्षित रहन आग्रह गर्दै सकेसम्म घरमै बस्न भनेका छन् ।