"वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धरपकड प्रयासको महासंघद्वारा भर्त्सना"

सफल खबर संवाददाता

सोमबार, ११ जेठ २०८३, २१ : २५
"वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धरपकड प्रयासको महासंघद्वारा भर्त्सना"

काठमाडौँ । समाचार प्रकाशनको विषयलाई लिएर वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठमाथि प्रहरीले निगरानी बढाउँदै धरपकडको प्रयास गरेको भन्दै नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले पत्रकार श्रेष्ठलाई विभिन्न व्यक्तिहरूबाट धम्की समेत दिइएको खुलासा गरेको छ।केही दिनअघि जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री तथा सत्ताधारी दलका नेताहरूका बारेमा आलोचनात्मक समाचार प्रकाशित भएको थियो। सोही समाचारलाई लिएर प्रधान सम्पादक श्रेष्ठले यस्तो थिचोमिचो र असुरक्षा झेल्नुपरेको नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले उल्लेख गरेको छ।

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीको सीधा निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खोल्न चौतर्फी दबाब दिनेजस्ता गतिविधिहरू बढिरहेको जानकारी पत्रकार श्रेष्ठले महासंघलाई गराउनुभएको छ।महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा समाचार लेखेकै आधारमा कुनै पनि पत्रकारमाथि यस्तो व्यवहार हुनु स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै सिधा प्रहार भएको ठहर गरिएको छ।

महासंघले यस प्रकारको स्वेच्छाचारी व्यवहारको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ।

प्रतिक्रिया दिनुहोस