काठमाडौं । काठमाडौं महानगरपालिका र खानेपानी मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) बीच महानगर क्षेत्र भित्र पाँच ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको छ ।
आम मानिसलाई काठमाडौं महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानहरुमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा प्रदान गर्नका लागि वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको हो । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको उपस्थितिमा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बोर्डकातर्फबाट कार्यकारी निर्देशक डा. सञ्जीव विक्रम राणाले सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौता अनुसार पहिलो चरणमा काठमाडौँ महानगर क्षेत्र भित्रका धुम्बाराहीको शंखपार्क, स्वयम्भूको भुइँखेल, बालाजु पार्क, वडा नं. २८ को शंखधर पार्क र मीनभवनको ट्रलीबस सेवा भएको कम्पाउण्डमा वाटर एटिएम राखिनेछ । तीन वर्षका लागि भएको सम्झौता अनुसार महानगरपालिकाले वाटर एटीएम राख्ने स्थान उपलब्ध गराउने छ भने त्यसको सुरक्षा र बत्तीको पनि व्यवस्था महानगरपालिकाले नै गर्ने छ ।
यो सम्झौतासँगै अब महानगरवासीले प्रति २ सय मिलीलिटर पानीका लागि जम्मा एक रुपैयाँ तिरे पुग्नेछ । वाटर एटिएममै व्यवस्था गरेको कागजबाट निर्मित २ सय मिली लिटरको कप प्रयोग गर्न चाहेमा कपको छुट्टै रु एक लाग्ने बोर्डका कार्यकारी निर्देशक राणाले जानकारी दिए । उनका अनुसार कप प्रयोग नगरी आफ्नै बोटलमा पानी थाप्न चाहे प्रतिलिटर पानीको पाँच रुपैयाँ तिरे पुग्छ । यो सेवाले एक बोटल पानीको २०–२५ रुपैयाँ तिर्नु पर्ने बाध्यतामा पनि कमी आउनेछ ।
महानगरपालिकाले तोकेका स्थानमा बोर्डले ३ महिनाको सञ्चालन र मर्मत खर्चसहित प्रति एटिएम १५ लाख ८६ हजारको लागतमा पाँच ओटा राख्ने छ । महानगर प्रमुख शाक्यले काठमाडौँमा पानीको हाहाकार भैरहेका बेला महानगरवासीलाई स्वच्छ र गुणस्तरीय पानी पिउने व्यवस्था गर्नका लागि यो प्रयासको थालनी गरेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले यो सम्झौताले सर्वसाधारणदेखि विद्यार्थी र अन्यले स्वच्छ र गुणस्तरीय पानी पिउन पाउने अपेक्षा गरेको बताए ।
बोर्डका कार्यकारी निर्देशक राणाले उपत्यकाका १५ स्थानमा यस्ता मिसिन राख्ने योजना अनुसार नै पहिलो चरणमा काठमाडौँ महानगर क्षेत्रभित्र पाँच स्थानमा राख्न लागेको बताए । अहिले हरेक वाटर एटिएममा पाँच हजार लिटरको ट्याङ्की राख्ने र मेलम्चीको पाइप जडानपछि सोझै त्यहाँको पानी राख्ने व्यवस्था गरिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० चैत्र २०७६, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह
काठमाडौँ महानगरपालिकाका कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम