७२ घण्टामा तयार पारिएको ‘भरतपुर विशेष कोरोना अस्पताल’ भोलिबाट सञ्चालन

सफल खबर संवाददाता

विहीबार, ०६ चैत्र २०७६, १९ : २४
७२ घण्टामा तयार पारिएको ‘भरतपुर विशेष कोरोना अस्पताल’ भोलिबाट सञ्चालन

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं १० मा रहेको प्रदर्शनी केन्द्रमा भरतपुर विशेष कोरोना अस्पताल निर्माण भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले भोलि बिहान १० बजे भरतपुर विशेष कोरोना अस्पतालको उद्घाटन हुने जानकारी दिनुभयो । 

सम्भावित कोरोना संक्रमणलाई मध्यनजर गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै अस्पताल बनाइएको छ । कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि भरतपुर महानगरले सबैको समन्वयमा अस्पताल निर्माण गरेको हो । 

अस्पतालमा आइसीयू, एचडीयू र जनरल वार्डसहित प्रस्तावित ७० शैयामध्ये ५० शैयाको व्यवस्थापन भइसकेको महानगर प्रमुख दाहालले बताउनुभयो । कोरोना फैलिएपछि छिमेकी मुलक चीनले उहान शहरमा १० दिनमा एकहजार बेडको अस्पताल बनाएर विश्वलाई चकित बनाएको थियो ।

त्यही शैली अपनाउँदै भरतपुर महानगरले सबैको समन्वयमा भरतपुर कोरोना अस्पताल निर्माण गरेको हो । उक्त अस्पतालमा शुक्रबारबाट विरामी भर्ना गर्न मिल्न सक्ने अस्पतालका प्राविधिक संयोजक डा भोजराज अधिकारीले जानकारी दिनुभयो । 

संक्रमित भइहाले अन्य मानिसमा नपुगोस् भनेर सतर्कता अपनाउन अस्थाई अस्पताल बनाउन लागिएको उनको भनाइ छ । कोरोनाको शंका लागेका बिरामीलाई मात्र त्यहाँ राखिनेछ ।

महानगर प्रमुख रेनु दाहालले अस्पतालमा भरतपुर महानगरपालिकाबाहेक देशभरका विरामीलाई सेवा प्रवाह गर्न सक्ने भन्दै अस्पताल निर्माणमा सहयोग गर्ने स्थानीय जनता, स्थानीय प्रशासन, सुरक्षाकर्मी र व्यवसायीहरुलाई धन्यवाद दिनुभयो । 

महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको अस्पतालमा आठ वटा भ्यान्टिलेटरका लागि प्रदेश सरकार र संघीय सरकारसँग कुराकानी भैरहेको उहाँले बताउनुभयो । अस्पतालका प्राविधिक संयोजक डा अधिकारीले ७० बेडबाट विस्तार गरेर ३ सय बेडसम्मको अस्पताल बनाउन सकिने जानकारी दिए । 

हाटबजार सञ्चालनमा रोक 
भरतपुर महानगरपालिकाले हाटबजार सञ्चालनमा रोक लगाएको छ । भरतपुर महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले विज्ञप्ति जारी गरी अर्को निर्णय नभएसम्म महानगरमा कुनै पनि हाटबजार सञ्चालन नगर्न निर्देशन दिएका छन् ।

यसैगरी नारायणी नदी किनारमा रहेका अस्थायी व्यवसायहरुलाई सञ्चालन नगर्न, २५ जनाभन्दा बढी मानिसहरु जम्मा भएर कुनै पनि गतिविधि सञ्चालन नगर्न अनुरोध गरिएको छ । यस्तै भरतपुर महानगरले आपतकालीन रेस्पोन्स टिमसमेत गठन गरेको छ । टिम संयोजकमा वडा नं ५ का वडाध्यक्ष पदमपाणि सुवेदी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस