चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं १० मा रहेको प्रदर्शनी केन्द्रमा भरतपुर विशेष कोरोना अस्पताल निर्माण भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले भोलि बिहान १० बजे भरतपुर विशेष कोरोना अस्पतालको उद्घाटन हुने जानकारी दिनुभयो ।
सम्भावित कोरोना संक्रमणलाई मध्यनजर गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै अस्पताल बनाइएको छ । कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि भरतपुर महानगरले सबैको समन्वयमा अस्पताल निर्माण गरेको हो ।
अस्पतालमा आइसीयू, एचडीयू र जनरल वार्डसहित प्रस्तावित ७० शैयामध्ये ५० शैयाको व्यवस्थापन भइसकेको महानगर प्रमुख दाहालले बताउनुभयो । कोरोना फैलिएपछि छिमेकी मुलक चीनले उहान शहरमा १० दिनमा एकहजार बेडको अस्पताल बनाएर विश्वलाई चकित बनाएको थियो ।
त्यही शैली अपनाउँदै भरतपुर महानगरले सबैको समन्वयमा भरतपुर कोरोना अस्पताल निर्माण गरेको हो । उक्त अस्पतालमा शुक्रबारबाट विरामी भर्ना गर्न मिल्न सक्ने अस्पतालका प्राविधिक संयोजक डा भोजराज अधिकारीले जानकारी दिनुभयो ।
संक्रमित भइहाले अन्य मानिसमा नपुगोस् भनेर सतर्कता अपनाउन अस्थाई अस्पताल बनाउन लागिएको उनको भनाइ छ । कोरोनाको शंका लागेका बिरामीलाई मात्र त्यहाँ राखिनेछ ।
महानगर प्रमुख रेनु दाहालले अस्पतालमा भरतपुर महानगरपालिकाबाहेक देशभरका विरामीलाई सेवा प्रवाह गर्न सक्ने भन्दै अस्पताल निर्माणमा सहयोग गर्ने स्थानीय जनता, स्थानीय प्रशासन, सुरक्षाकर्मी र व्यवसायीहरुलाई धन्यवाद दिनुभयो ।
महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको अस्पतालमा आठ वटा भ्यान्टिलेटरका लागि प्रदेश सरकार र संघीय सरकारसँग कुराकानी भैरहेको उहाँले बताउनुभयो । अस्पतालका प्राविधिक संयोजक डा अधिकारीले ७० बेडबाट विस्तार गरेर ३ सय बेडसम्मको अस्पताल बनाउन सकिने जानकारी दिए ।
हाटबजार सञ्चालनमा रोक
भरतपुर महानगरपालिकाले हाटबजार सञ्चालनमा रोक लगाएको छ । भरतपुर महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले विज्ञप्ति जारी गरी अर्को निर्णय नभएसम्म महानगरमा कुनै पनि हाटबजार सञ्चालन नगर्न निर्देशन दिएका छन् ।
यसैगरी नारायणी नदी किनारमा रहेका अस्थायी व्यवसायहरुलाई सञ्चालन नगर्न, २५ जनाभन्दा बढी मानिसहरु जम्मा भएर कुनै पनि गतिविधि सञ्चालन नगर्न अनुरोध गरिएको छ । यस्तै भरतपुर महानगरले आपतकालीन रेस्पोन्स टिमसमेत गठन गरेको छ । टिम संयोजकमा वडा नं ५ का वडाध्यक्ष पदमपाणि सुवेदी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ चैत्र २०७६, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान