‘इन्फ्लुन्जा परिक्षणमा नेगेटिभ आएका बिरामीको कोरोना पुनः परिक्षण हुने’

विहीबार, ०६ चैत्र २०७६, ०६ : ४५
‘इन्फ्लुन्जा परिक्षणमा नेगेटिभ आएका बिरामीको कोरोना पुनः परिक्षण हुने’

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले इन्फ्लुएन्जाको परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका बिरामीको पनि कोरोना भाइरस संक्रमणको परीक्षण गर्ने भएको छ ।

प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले अबदेखि परीक्षणको दायरा बढाउने जानकारी दिए। उनले भने,'इन्फ्लुएन्जा नेगेटिभ आएकालाई पनि बुधबारदेखि कोभिड-२०१९ को परीक्षण भइरहेको छ।' 

उनले बताए अनुसार बुधबार साँझसम्म कोरोना भाइरसको ५३० वटा नमुना परीक्षण भइसकेको छ। उनले भने,'यदि रुघाखोकी, ज्वरो आएको छ र अरु रोगको कुनै पनि लक्षण छैन भने ट्राभल हिस्ट्रीलाई नहेरी पनि कोरोना परीक्षण गरिनेछ।'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले हालसम्म कोरोनाको लक्षण देखिएकोलाई मात्रै परीक्षण गरिएको र अबदेखि भने इन्फ्लुएन्जा नेगेटिभ आएकालाई पनि परीक्षण गर्ने बताए ।

'अहिलेसम्म बाहिरबाट आएकोलाई परीक्षण गरिएको थियो अब भने ज्येष्ठ नागरिकहरुलाई तथा अलि सिरियस बिरामीलाई पनि परीक्षण गर्ने कि भन्‍ने छलफल गरेका छौं,' प्रवक्ता देवकोटाले भने । कान्तिपुर दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस