काठमाडौँ । कोरोना भइरस (कोभिड–१९) नियन्त्रणका लागि आफ्नो मुलुकमा सफलता हासिल गर्दै आएको छिमेकी मुलुक चीनले नेपालका लागि आवश्यक पर्ने मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव गरेको छ । नेपालका लागि के–के सामग्री र प्राविधिक सहयोग आवश्यक पर्छ, त्यसबारे व्यवस्थित माग राख्न चीनले भनेको हो ।भाइरस प्रभावित अन्य मुलुकहरूलाई सहयोगको मात्रा बढाइरहेको चीनले नेपालमा पनि सम्भावित महामारी रोक्नका लागि सहयोगको प्रतिबद्धता जनाएको हो ।
कोरोना भाइरस रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलका अनुसार चीनले सहयोगका सम्भावित क्षेत्रबारे पनि उल्लेख गरेको छ । ऊर्जा, मास्क, मेडिकल सामग्री र मेडिकल टिम पठाउनेसम्मको प्रतिबद्धता चीनबाट आएको छ । त्यस्तै भाइरसको संक्रमण घट्नेबित्तिकै नेपालले चाहे चिनियाँ पर्यटकहरूको आगमन पनि अरूभन्दा पहिले खुला गर्न तयार रहेको प्रतिबद्धता आएको छ । त्यस्तै नेपालको पूर्वाधार निर्माणको कामलाई पनि नेपालले चाहेको समयमा गति दिन तयार रहेको सूचना चीनले पठाएको छ ।
‘यस्तो गर्ने हो भने तुरुन्त माग होस्, हामी तत्पर छौं भनेर चिनियाँ पक्षबाट हामीलाई आश्वासन आएको छ,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘हामी पनि संक्रमण नफैलियोस् भनेर लागेका छौं र आवश्यक पर्ने सबै खालका सहयोग लिन्छौं ।’ केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका परराष्ट्रमन्त्री वाङ यीबीच पनि कुराकानी भएको थियो ।
त्यस क्रममा पनि पनि सहयोग गर्ने विषयमा दुईपक्षीय कुराकानी भएको थियो । ‘उहाँहरूले सहयोगका लागि तत्परता देखाउनुभएको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँहरूको असल अभ्यासबाट कसरी सिक्ने भन्ने नै हो । दोस्रोचाहिँ हामीलाई आवश्यक पर्दा सामग्रीहरूमा सहयोग गर्ने कुराहरू हुन्, त्यसमा कुराकानी भइरहेको छ ।’
चीनले कोरोनाबाट अत्यधिक प्रभावित इटाली र स्पेनमा मेडिकल टोलीसहित स्वास्थ्य सामग्री पठाएर सहयोग गरिरहेको छ । युरोपको सबैभन्दा प्रभावित मुलुक इटालीको राजधानी रोममा केही समयअघि चीनले विमान चार्टर गरेर नौ सदस्यीय मेडिकल टोली पठाएको थियो । चीनको राष्ट्रिय स्वास्थ्य आयोग र चीनकै रेडक्रस सोसाइटीले सात हजार भेन्टिलेटर र मोनिटरसहित अन्य स्वास्थ्य सामग्री इटालीलाई सहयोग गरेको छ ।
नेपालमा संक्रमण फैलिए अहिलेका अस्पतालमा रहेका भेन्टिलेटर र मेडिकल कीटलगायतको व्यापक अभाव हुने आकलन छ । त्यसैले त्यस्ता सामग्री खरिद प्रक्रिया र विदेशी सहयोगबाट समेत जोहो गर्ने सरकारी तयारी छ । त्यही तयारीअन्तर्गत चीनले गरेको सहयोगको प्रस्तावबाट सरकार उत्साहित छ । यसअघि चीनमा संक्रमण बढेका बेला नेपालले एक लाख थान मास्क पठाएको थियो ।
नेपालको उक्त सहयोगप्रति चीनका परराष्ट्रमन्त्री वाङ यीले पनि प्रशंसा र आभार व्यक्त गरेका थिए । अहिले नेपालमा जोखिम बढ्ने सक्ने अवस्थालाई मध्यनजर गरेर चीनले आफ्नोतर्फबाट पनि गुन तिर्न खोजेको हो । ‘असल छिमेकीको हिसाबले हाम्रो क्षमताअनुसार हामी नेपाललाई सहयोग गर्न तयार छौं,’ चिनियाँ दूतावासका एक उच्च अधिकारीले भने, ‘नेपालबाट के–के कुरा चाहियो भन्ने प्रस्ताव पठाएपछि त्यसको आधारमा हामी सहयोग पठाउँछौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस