डिआइजी दरबन्दी संख्या विवादले सवा दुई सय प्रहरीको बढुवा अन्योलमा

सोमबार, ०३ चैत्र २०७६, ०७ : ४४
डिआइजी दरबन्दी संख्या विवादले सवा दुई सय प्रहरीको बढुवा अन्योलमा

file photo

काठमाडौं । नेपाल प्रहरीमा अहिले इन्स्पेक्टरदेखि डिआइजीसम्मका दुई सय २६ प्रहरी अधिकृत बढुवाको पर्खाइमा छन् । प्रदेश २ प्रहरीबाहेक सातवटै प्रदेश प्रहरी नेतृत्वविहीन बनेको पनि एक महिना बढी भइसक्यो । तर तत्काल बढुवा प्रक्रिया अघि बढ्ने सम्भावना अझै देखिएको छैन ।

नेपाल प्रहरीमा हाल कायम रहेको डिआइजी दरबन्दी घटाउने वा घटाउन नहुने रस्साकस्सीले अहिले प्रहरीका अधिकांश विभाग नेतृत्वविहीन बनेका हुन् भने बढुवा प्रक्रिया पनि प्रभावित बनेको हो । नेपाल प्रहरीमा समयक्रम अनुसार बढुवा नहुँदा रिक्त पदको संख्या बढ्दो क्रममा छ । हाल कायम ३४ डिआइजी दरबन्दीमध्ये २२ खाली छन् । त्यस्तै १६ एसएसपी, १७ एसपी, ५२ डिएसपी र एक सय १९ इस्पेक्टरको पद पनि अहिले खाली छ ।

खाली रहेको २२ डिआजीबाट बढुवा खोल्ने हो भने ३८ एसएसपी, ५५ एसपी,  एक सय सात डिएसपी र दुई सय २६ प्रहरी निरीक्षकको बढुवाको बाटो खुल्छ । तर गृहमन्त्रालयले नेपाल प्रहरीमा रहेका ३४ डिआइजी दरबन्दी आवश्यक नरहेको भन्दै दरबन्दी घटाउने तयारी थालेका कारण बढुवाको मुखमा रहेका सवा दुई सय प्रहरी अधिकृतको बढुवा अन्योलमा परेको हो ।

प्रहरी मुख्यालयले प्रहरी समायोजनको मुखमा कायम रहेको दरबन्दी घटाउँदा संगठनलाई असर पुग्ने भन्दै दरबन्दी घटाउन नहुने तर्क अगाडि सारेको छ । जसका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) समितिसमेत गठन भइसकेको छ  ।

गृहसचिव अध्यक्ष रहेको सो समितिमा गृहमन्त्रालयका प्रशासनतर्फका सह–सचिव सदस्य–सचिव रहन्छन् भने प्रहरी महानिरीक्षक (आइजी), प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सह–सचिव, अर्थमन्त्रालयका सह–सचिव र कानुन मन्त्रालयका सह–सचिव सदस्य रहन्छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी (एआइजी सिफारिस) शैलेश थापा क्षेत्री दरबन्दीको आवश्यकता निर्धारणपछि मात्र दरबन्दी घटाउने वा नघटाउने निर्णय हुनुपर्ने बताउँछन् ।

तर गृहमन्त्रालय प्रदेश प्रहरी समायोजन भइसकेपछि केन्द्र मातहत रहने प्रहरीको संख्या घट्ने भएकाले हालको डिआइजीको दरबन्दी आवश्यक नहुने भन्दै डिआइजी दरबन्दी घटाउने तयारीमा जुटेको छ । ओएनएम कमिटीको प्रतिवेदनसहित दरबन्दी घटाउने प्रस्ताव गृहमन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्ने तयारीसमेत गरेको स्रोतले जनाएको छ ।

आठ डिआइजीको दरबन्दी कटौती गर्ने तयारी 
गृहमन्त्रालयले गठन गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले प्रहरीमा हाल रहेको प्राविधिकसहित ३४ डिआइजी पदलाई बढीमा २६ रहने गरी दरबन्दी घटाउने गृहकार्य गरेको छ । प्राविधिकतर्फ प्रहरी अस्पतालमा पाँच, सूचना तथा सञ्चार निर्देशनालयमा एक, आइटीमा एक र आवास तथा भौतिक शाखामा एक गरी आठ डिआइजी दरबन्दी घटाउने गरी गृहकार्य भइरहेको बताइएको छ ।

गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले दरबन्दी समायोजन तथा रिक्त पदपूर्तिको तयारी भइरहेको बताए । ‘लामो समय पद रिक्त रहँदा कार्यसम्पादनमा असर पुग्नेतर्फ हामी सजग छौँ,’ शर्माले भने, ‘यसलाई छिटो भन्दा छिटो टुंग्याउने गरी गृहकार्य भइरहेको छ । केही दिनभित्रै यसको टुंगो लाग्छ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।