सार्क मुलुकलाई कोरोनाविरुद्ध लड्न बलियो साझा रणनीति बनाउन प्रस्ताव

पत्रपत्रिकाबाट

शनिबार, ०१ चैत्र २०७६, ०७ : ०७
सार्क मुलुकलाई कोरोनाविरुद्ध लड्न बलियो साझा रणनीति बनाउन प्रस्ताव

काठमाडौं । ‘सार्क मुलुकलाई कोरोनाविरुद्ध लड्न बलियो साझा रणनीति बनाउन प्रस्ताव गर्छु’, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान ट्विट गरे, ‘सबै मिलेर स्वस्थ क्षेत्र निर्माणमा योगदान गरेर विश्वसामु उदाहरण पेस गर्न सक्छौं।’

प्रधानमन्‍त्री एवं सार्क अध्यक्ष केपी शर्मा ओलीले अस्पतालको शड्ढयाबाटै मोदीको प्रस्तावलाई स्वागत गरेका छन्। ‘कोरोना भाइरस संक्रमण रोकथामका लागि सार्क राष्ट्रका नेताहरूले एकजुट भएर कडा रणनीति बनाउने मोदीजीको प्रस्तावलाई म स्वागत गर्छु’, ओलीले ट्विटमा लेखेका छन्, ‘घातक रोगबाट हाम्रा नागरिकलाई बचाउन सार्क सदस्य राष्ट्रसँग मिलेर काम गर्न सरकार तयार छ।’

दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य लाभ गरेर बालुवाटर फर्कनुअघि ओलीले मोदीलाई ‘मेन्सन’ गर्दै ट्विट गरेका हुन्। प्रधानमन्त्री ओलीको समर्थनलाई भारतीय प्रधानमन्त्री मोदीले नेपाली मित्रको साथ भनेर प्रशंसा गरेका छन्। सार्कको १८ औं शिखर सम्मेलन (२०७१) पछि अर्को सम्मेलन हुन सकेको छैन। त्यतिबेला जारी काठमाडौं घोषणापत्रमा हरेक दुई वर्षमा शिखर सम्मेलन गर्ने उल्लेख छ। १९ औं शिखर सम्मेलन गर्ने पालो पाकिस्तानको हो। भारत–पाकिस्तानबीच तिक्ततापूर्ण सम्बन्धका कारण शिखर सम्मेलन अन्योलमा छ।

कोरोना भाइरसको महामारी फैलिएपछि भने भारतले सार्कलाई सम्झेको छ। मोदीले पहिलो कार्यकालको शपथ ग्रहण समारोहमा सार्कका नेताहरूलाई निम्त्याएका थिए। तर १८ औं शिखर सम्मेलनपछि सार्कप्रति उनको मोहभंग भएको छ। उनीमाथि सार्कलाई छाडेर बिमस्टेक अघि बढाउने रणनीति लिएको आरोप छ। पछिल्लो ट्विटमा मोदीले सार्क मुलुकका नागरिकलाई स्वस्थ राख्‍न आपसमा भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले सार्कलाई सक्रिय बनाउन पहल गरिरहेका छन्। सार्कका गतिविधि अघि बढ्न सक्ने वातावरण बन्दै गएकाले सार्क अध्यक्ष ओलीले मोदीको धारणालाई सकारात्मक मानेको विश्लेषण परराष्ट्र अधिकारीको छ। यसअघि मोदीको जवाफ हुन्थ्यो, ‘पाकिस्तानले सीमापार आतंकवाद नरोकेसम्म सार्क अगाडि बढ्ने सम्भावना रहँदैन।’

विश्वमा करिब ५ हजारको ज्यान लिइसकेको कोरोना भाइरस सार्क क्षेत्रमा पनि प्रवेश गरेको छ। सार्क मुलुकमा १ सय २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमणबाट भारत र पाकिस्तानमा एकएक जनाको मृत्यु भएको छ। शुक्रबारसम्म भारतमा ७८ र पाकिस्तानमा २९ जनामा संक्रमण भएको छ। नेपालमा १ (निको भइसकेको), बंगलादेशमा ६, भुटानमा १ (अमेरिकी नागरिक), माल्दिभ्समा २, अफगानिस्तानमा १० र श्रीलंकामा ४ जनालाई संक्रमण भएको छ।

प्रतिक्रिया दिनुहोस