गण्डकी । तीन दशक अघिसम्म पोखरा र आसपासका क्षेत्रमा भान्छामा कोदोको ढिँडो खाएर बाहिर हात चुठ्न आउँदा पनि कसैले देख्छन् कि भनेर सोच्नुपर्ने अवस्था थियो । त्यस समयमा कोदो समाजमा हेला गरिएको अन्नमा पर्दथ्यो । तर अहिले समय बदलिएको छ, होटल रेष्टुरेन्टमा मात्र हैन घरमा ढिँडो पकाएर खाने चलन बढेको छ ।
तीन दशककै अन्तरालमा कोदोप्रतिको धारणा एकाएक परिवर्तन भएको अगुवा कृषक रमेश आचार्य बताउछन् । पछिल्लो समयमा विशेषगरी पाखाबारीमा कोदो लगाउने क्रम बढेको भए पनि पर्याप्त जनशक्ति नहुँदा यसको खेती अपेक्षित विस्तार भने हुन नसकेको उनले जानकारी दिए । अन्य अन्नभन्दा कोदोको खेती गर्न श्रम र लगानी बढी खर्च हुने भए पनि कृषकले यसको उचित मूल्य पाउन नसकेको आचार्यले बताए।
वर्षौंसम्म राख्दा पनि नबिग्रने कोदो विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो । मानिसको शरीरमा आवश्यक पर्ने ‘प्रोटिन’को मात्रा अत्यधिक हुने कोदोका साथै कोदोजन्य बालीका रूपमा कागुनो, धानकोदो, जुनेलो, बाजरा, सामा र चिनु रहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए। कोदोजन्य बालीमा पर्ने यिनीहरूलाई कोदाका सात भाइ पनि भन्ने गरिएको छ । पछिल्लो समयमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै यो खेती गर्ने क्रम बर्सेनि घट्दै गएको छ ।
स्वास्थ्यका लागि बहुपोषण एवं औषधीयजन्य गुण रहेको कोदोको माग बढ्दो रहे पनि त्यस अनुसार उत्पादन भने हुन सकेको छैन । उनका अनुसार कृषिको राष्ट्रिय तथ्याङ्कअनुसार धान, मकै, गहुँ पछि चौथो बढी उत्पादन हुने अन्नमा कोदो पर्दछ । पोखरामा भने यो धान र मकै पछि बढी उत्पादन हुन्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १६ साउन २०८२, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बहुगुणी अन्न कोदो : खेती गर्न किसानको अरुची
पर्वतमा जेठदेखि नै धान र कोदो रोपाइँ
झापामा ९३७ मेट्रिक टन कोदो उत्पादन
पहाड र हिमालमा मात्रै फल्ने कोदो बाँकेमा उत्पादन !
असिनापानीले ३ सय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट
एसियनले ल्यायो कोदोको बिस्कुट, दसैंतिहार अगाडि नै भारतीय बजारमा निर्यात गर्ने लक्ष्य