ट्यांकरको ताला खोल्ने ‘मास्टर की’ गायब भएपछि एउटै ट्यांकरबाट २५२ लिटरसम्म तेल चोरी

पत्रपत्रिकाबाट

विहीबार, २९ फागुन २०७६, ०७ : ०२
ट्यांकरको ताला खोल्ने ‘मास्टर की’ गायब भएपछि एउटै ट्यांकरबाट २५२ लिटरसम्म तेल चोरी

फाईल फोटो

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट आयल निगमको थानकोट डिपोमा डिजेल बोकेर आएका चार ट्यांकरमा मट्टीतेल मिसावट भएको भेटिएको छ । मट्टीतेल मिसाइएका डिजेलका थप २० ट्यांकर बाटोमै रोकेर राखिएको छ । 

थानकोट डिपोमा तेल ओसार्ने करिब दुई सय ट्यांकरको ताल्चा खोल्ने साझा साँचो (मास्टर की) हराएपछि यति धेरै ट्यांकरमा मिसावटको घटना भेटिएको हो । अहिले तेल मिसावट भएका सबै ट्यांकर हराएको एउटै साँचोले खोल्न मिल्छ । ट्यांकरचालकले साँचो दुरुपयोग गरी डिजेल लोड भएको ट्यांकरमा मट्टीतेल मिसाएर आर्थिक लाभ लिन खोजेको प्रारम्भिक अनुमान गरिएको छ ।

एक व्यवसायीका अनुसार बरौनी रिफाइनरीबाट २५ फागुनमा डिजेल बोकेर आएका ट्यांकरमा मट्टीतेल मिसावट भएको भेटिएको हो । ‘थानकोट डिपोमा तेल बोकेर आएका ट्यांकरको सुरुमा गुणस्तर परीक्षण हुने गरेको छ । डिपोपरिसरमै रहेको प्रयोगशालाका सामग्री प्रयोग गरेर हेर्दा ना.५ख १३१०, ना.४ख २१७९ र ना.७ख ०८३९ नम्बरका ट्यांकरले बोकेर ल्याएको डिजेलमा मट्टीतेल मिसावट भएको भेटियो,’ स्रोतले भन्यो । डिजेल बोकेका तीनवटै ट्यांकर २० किलोलिटर क्षमता हुन् । त्यस्तै, २७ फागुनमा ना.७ख २४७० नम्बरको डिजेल बोकेको ट्यांकर परीक्षण गर्दा पनि मट्टीतेल मिसावट भएको भेटिएको हो । २० किलोलिटर क्षमताको यो ट्यांकर ग्रेट हिमालय ढुवानी सेवाको नाममा दर्ता छ । यो कम्पनी पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालको हो ।

‘मट्टीतेल मिसिएको पुष्टि भएपछि चारवटै डिजेल ट्यांकरलाई अहिले थानकोट डिपोको हाताभित्र राखिएको छ, तेल खन्याइएको छैन,’ स्रोतले भन्यो । थानकोट डिपोप्रमुख विनीतमणि उपाध्यायले चारवटै ट्र्यांकरलाई डिपोको लोडिङ क्षेत्रको कुनामा लगेर राखेका छन् । उनले डिजेल बोकेको ट्र्यांकरमा मट्टीतेल मिसिएको विवरण केन्द्रीय कार्यालयमा जानकारी गराइसकेका छन् ।

चार ट्यांकरमा रहेको ८० हजार लिटर डिजेलमा मट्टीतेल मिसिएको प्रारम्भिक परीक्षणमा फेला परेपछि थानकोट डिपोले थप परीक्षणका लागि सिनामंगलस्थित निगमकै केन्द्रीय प्रयोगशालामा तेल पठाएको छ । केन्द्रीय प्रयोगशालाको रिपोर्ट आउन बाँकी छ । अहिले थानकोट डिपोमा तेल ओसार्ने ट्यांकरमा ताल्चासँगै अर्को सिल पनि लगाउने गरिएको छ । 

१९ माघमा थानकोट डिपोमा तेल ओसार्ने ट्यांकरको ताल्चासमेत खोल्न मिल्ने मास्टर की सिनामंगल डिपोबाट हराएको घटना बाहिरिएको थियो । त्यसपछि ट्र्यांकरमा ताल्चा र सिल लगाउन थालिएको हो । सिल तोडेर तेल चोरी गर्न नमिल्ने निगमको प्रवक्ता वीरेन्द्र गोइतले बताएका थिए । तर, ताल्चा र सिल भएकै अवस्थामा ठूलो परिमाणमा तेल चोरी भएको छ । आधुनिक लकिङ सिस्टमले समेत चुहावट नियन्त्रण गर्न नसकेको घटनाले प्रस्ट पारेको छ । 

किन मिसाइन्छ डिजेलमा मट्टीतेल ?
स्रोतका अनुसार भारतमा कोटा र प्रचलित दर गरेर दुई प्रकारका मट्टीतेल उपलब्ध छन् । डिजेलभन्दा दुवै प्रकारको मट्टीतेल धेरै सस्तो पर्छ । आइओसीले कोटाको मट्टीतेल मूल्य १३.६० देखि ३८.५८ भारुसम्म निर्धारण गरेको छ । मुनाफा जोडिएको मट्टीतेलको मूल्य दिल्लीमा ५८.८१ भारु छ । तर, डिजेलको मूल्य भने दिल्लीमा ६३.०१ भारु निर्धारण गरिएको छ । कोटामा पाइने मट्टीतेलभन्दा डिजेलको मूल्य कम्तीमा दोब्बर छ ।

ट्यांकरचालकले भारतमा कोटाको मट्टीतेल बिक्री गर्ने डिलरसँग सम्पर्क बढाएका हुन्छन् । आइओसीको डिपोआसपासमै कोटाका मट्टीतेल बिक्रीकेन्द्र पाइन्छ । त्यस्तै, कतिपय भारतीय पेट्रोल पम्पले ट्यांकरचालककै लागि भनेर कोटाको मट्टीतेल राखिदिएका हुन्छन् । ट्यांकरचालकहरूले सकेसम्म कोटाकै मट्टीतेल उठाउने गरेका छन् । त्यसपछि कोटाको मट्टीतेल जति पाइन्छ, त्यति नै बराबरको डिजेल ट्यांकरबाट निकालेर मट्टीतेल हालिदिन्छन् । यसरी सस्तो मट्टीतेल ट्यांकरमा हालेर चालकले महँगो डिजेल झिक्छन् र भारत तथा नेपालका सीमावर्ती क्षेत्रमा रहेका पम्पमा बिक्री गर्छन् । 

चोरी गरेर बिक्री गरेको मट्टीतेलको पैसा चालकले ढुवानी व्यवसायी र कर्मचारीलाई समेत बुझाउने गरेका छन् । तीनै पक्षको मिलेमतोमा चोरी हुने भएकाले दोषी कारबाहीबाट जोगिने गरेका छन् ।आजको नयाँपत्रीका दैनिकमा खबर छ ।