पर्याप्त खाद्यान्न र औषधि छ, आत्तिनुपर्ने अवस्था छैन

सफल खबर संवाददाता

शुक्रबार, २३ फागुन २०७६, १७ : २५
पर्याप्त खाद्यान्न र औषधि छ, आत्तिनुपर्ने अवस्था छैन

काठमाडौं । सरकारले पर्याप्त खाद्यान्न रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ । कोरोनाको त्रास फैलिएको र खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने चर्चा चलिरहेको अवस्थामा शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा पर्याप्त खाद्यान्न स्टक रहेको बताएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पत्रकार सम्मेलनमा बोल्दै नेपाल दुई ठूला जनसंख्या भएका देशका बीचमा रहेकाले सबैलाई सर्तकता अपनाउन आग्रह गरे ।

“हामी आतंकित हुने होइन, सतर्कता अपनाउने र सचेतना फैलाउनु पर्ने बेला हो,” उनले भने, “नेपालसँग खाद्यान्न ६ महिना, नुन १० महिना र ग्याँस १ महिनाका लागि पुग्ने स्टक छ ।” उनले नेपालका लागि उत्तरभन्दा दक्षिणबाट उच्च जोखिम रहेको समेत बताए ।

यस्तै २६ वटा औषधीको निर्यातमा भारत सरकारले रोक लगाएको विषयमा दुई देशबीच सचिवस्तरीय छलफल भएको उनले बताए । उनले भारतले अत्यावश्यक औषधी रोकतोक नगर्ने विश्वास दिलाएको बताए । नेपालमा पर्याप्त स्टकमा औषधि रहेकाले आत्तिन नपर्ने उनले बताए । 
 

प्रतिक्रिया दिनुहोस