कोरोनाको कहर : साना तथा ठुला दर्जनौं निर्माण विकासका आयोजनाहरु ठप्प

शुक्रबार, २३ फागुन २०७६, ०७ : ४२
कोरोनाको कहर : साना तथा ठुला दर्जनौं निर्माण विकासका आयोजनाहरु ठप्प

काठमाडौँ । छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव नेपालको विकास–निर्माणमा समेत पर्न थालेको छ । हालसम्म प्रदेश २ र सुदूरपश्चिमबाहेक सबै प्रदेशका दर्जनभन्दा बढी सरकारी र निजी लगानीका ठूला तथा साना विकास–निर्माण आयोजनाका काममा कोरोनाको प्रत्यक्ष प्रभाव परिसकेको छ ।

अप्रत्यक्ष प्रभावको लेखाजोखा छैन ।चीनबाट आयात हुने उपकरण कोरोनाका कारण रोकिएको र नयाँ वर्ष मनाउन स्वदेश गएका चिनियाँ ठेकेदार, इन्जिनियर र कामदार उतै अड्किएकाले आयोजनाहरू प्रभावित भएका हुन् । नेपालमा काम गर्न तीन वर्षयता श्रम स्वीकृति लिएका विदेशी कामदारमध्ये सबैभन्दा बढी (६० प्रतिशत) चिनियाँ छन् ।

स्वीकृति लिएका चिनियाँ कामदारको संख्या ३ हजार ५ सय ८७ छ । तीमध्ये धेरैजसो कोरोना भाइरस फैलिनुपूर्व चिनियाँ वसन्त चाड (नयाँ वर्ष) मनाउन घर गएकामा उतै रोकिएका छन् । यसबाट चिनियाँ श्रमिक वा लगानीकर्ता प्रत्यक्ष संलग्न नभएका आयोजनामा समेत असर परेको छ । फलस्वरूप आयोजनाको अवधि लम्बिने मात्रै हैन, सरकारी बजेट निकै कम खर्च भइरहेको बेला पुँजीगत खर्च झन् कम हुने सम्भावना छ ।

अध्ययन रोकियो

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा तय गरिएको परियोजनाको अध्ययन तथा थप प्रक्रिया अघि बढाउने विषयसमेत कोरोनाका कारण रोकिएको छ । ९८ प्रतिशत सुरुङ हुने ७२ किलोमिटरको केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन प्रक्रिया अवरुद्ध भएको छ । मंसिरमा नेपाल–चीनका अधिकारीहरूबीच बढीमा साढे दुई वर्षभित्र यो काम सक्ने समझदारी बनेको थियो । ‘अध्ययन गर्न आउने भनिएको टोली अहिले बेखबर छ,’ रेल विभागका महानिर्देशक बलराम मिश्रले भने ।

चक्रपथ विस्तार (दोस्रो चरण) को विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्न चिनियाँ टोली फागुनमा नेपाल आउने तय भएको थियो । कोरोनाले उनीहरू आउन नसक्दा अध्ययनको काम अन्योलमा परेको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए । ‘फागुनमा अर्थ मन्त्रालयले बोलाउने कुरा थियो,’ उनले भने, ‘कोरोनाले गर्दा अहिले बोलाइएको छैन ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस