काठमाडौं । नेपालमा मिर्गौला दान गर्नेमा पुरुषभन्दा महिला अगाडि रहेको नागरिक दैनिकमा समाचार छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवैपटक मिर्गौला दान गर्ने पनि महिला हुन्। ओलीलाई पहिलोपटक भाइबुहारी पर्ने अन्जन घिमिरे ओलीले मिर्गौला दिएकी थिइन्। प्रधानमन्त्री ओलीलाई दोस्रोपटक मिर्गौला दान गर्ने पनि समीक्षा संगौला ज्ञवाली हुन्।
त्रिवि शिक्षण अस्पतालको तथ्यांक अनुसार मिर्गौला दिनेमा महिला बढी छन् भने लिनेमा पुरुष बढी। यो अस्पतालमा प्रधानमन्त्री ओलीसहित ६ सय १४ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ। जसमध्ये ६५ प्रतिशत पुरुष छन्। मिर्गौला दान गर्नेमा ७० प्रतिशत महिला रहेको अस्पतालको तथ्यांकले देखाउँछ। मिर्गौ प्रत्यारोपण हुने वीर अस्पताल र धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पनि मिर्गौला दाता महिला नै बढी भएको पाइएको छ।
अन्तर्राष्ट्रिय एक जर्नलका अनुसार भारत, पाकिस्तान तथा दक्षिण एसियाली राष्ट्रमा समेत महिला मिर्गौला दाता नै बढी छन्। ती राष्ट्रमा पनि ७० प्रतिशत मिर्गौला दाता महिला छन्। चिकित्सकका अनुसार दक्षिण एसियाली देशको तुलनामा विकसित तथा पश्चिमा राष्ट्रमा भने महिला मिर्गौला दाताको संख्या कम छ। नेपाल तथा दक्षिण एसियामा महिला मिर्गौला दाता बढी हुनुको पछि सामाजिक मनोविज्ञान तथा पितृसत्तात्मक समाज कारक रहेको त्रिवि शिक्षण अस्पतालका नेफोलोजी विभाग प्रमुख तथा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंह शाह बताउँछिन्।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २३ फागुन २०७६, ०७ : ३८
लेखकबाट थप