तुहियो इश्वर पोखरेलको कार्यवाहक 'प्रधानमन्त्री' हुने सपना

प्रधानमन्त्री अस्पतालमा रहँदा आफुलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने चाहना तर ओलीले त्यो जिम्मेवारी नदिई अस्पताल भर्ना

मंगलबार, २० फागुन २०७६, ०८ : ३१
तुहियो इश्वर पोखरेलको कार्यवाहक 'प्रधानमन्त्री' हुने सपना

काठमाडौं । प्रधानमन्त्री केपी ओली मृगौला पूनःप्रत्यारोपणका लागि हिजो सोमबार साँझबाट अस्पताल भर्ना भएका छन् । उनको भोली मृगौला प्रत्यारोपण गर्ने योजना छ । हुन त ओलीले आफु ५ दिन मृगौला प्रत्यारोपणका लागि अस्पताल बस्ने, छैटौं दिन घर फिर्ता हुने र काम पहिले जस्तै गर्न थाल्ने एउटा सार्वजनिक कार्यक्रममा यि भावना ब्यक्त गरेका थिए ।

ओलीमा यो बलियो आत्मबल देखिएपनि चिकित्सकहरुका अनुसार सरल ढंगवाट प्रत्यारोपण सफल भएपनि प्रधानमन्त्री ओलीलाई कम्तीमा ७ देखि १० दिन अस्पताल बस्नुपर्ने हुन्छ । त्यसपछि पनि उनले कम्तीमा ३ महिना पूर्ण आराम गर्नुपर्ने हुन्छ ।  प्रधानमन्त्री ओलीको उपचारको यो अवधीमा आफु कार्यवाहक प्रधानमन्त्री बन्ने चाहना उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलमा थियो ।

उनको भित्री आकांक्षामा भने प्रधानमन्त्री ओलीले चिसो पानी खन्याईदिएका छन् । अर्थात भनौं, ओलीले कसैलाई पनि कार्यवाहक प्रधानमन्त्रीको जिम्मा नदिई सिधै अस्पतालमा भर्ना हुन पुगेका छन् ।  कुनै पनि देशका कार्यकारीले आफु देश बाहिर रहदा र देशभित्र अचेत अवस्थामा रहँदा कार्यवाहक तोक्नु पर्ने र त्यो सूचना राजपत्रमा प्रकाशित गर्नुपर्ने पूर्व न्यायधिसहरुकै तहबाट सार्वजनिक बहस बाहिर आएपनि उनले कार्यवाहक कसैलाई दिन चाहेनन् । 

ओलीले पार्टीभित्र देखा परेका समस्या समेत थाती राखेरै अस्पताल भर्ना हुन पुगेका छन् । यसले पनि देखाउँछ सितिमिति प्रधानमन्त्री ओलीले पोखरेललाई झट्ट पूर्ण विश्वास गरिहालेका छैनन् । आफु निकट राखिरहने, तर पूर्ण विश्वास नगरी ‘जाँचकी’ को भूमिकामा मात्र पोखरेललाई ओलीले राख्न चाहन्छन् भन्ने यो प्रकरणले पनि पुष्टि गरेको छ । आफु अस्पताल बस्दा कोरेना भाइरस लगायत भैपरी आउने अन्य समस्यासँग जुध्नका लागि आवश्यक तयारी गर्ने भन्दै पोखरेलको नेतृत्वमा प्रधानमन्त्री ओलीले एउटा समिति भने बनाईदिएका छन् । 

त्यसबाहेकका अधिकार उनले कसैलाई पनि जिम्मा दिएका छैनन् । अर्काे मन्त्रीपरिषद्को बैठकसम्म आफै उपस्थित भईसक्ने भन्दै ओलीले कार्यवाहक कसैलाई दिएनन् । ओलीको यो निर्णय पछि उपप्रधानमन्त्री पोखरेलको सपना भने तुहिएको छ । उनले प्रधानमन्त्री ओली अस्पताल बसाई गर्दा कम्तीमा तीन महिना आफुले कार्यवाहक प्रधानमन्त्रीका रुपमा काम गर्न पाउने विश्वास लिएका थिए । 

त्यही अनुसार, उनले आफु निकट नेताहरुलाई अब आफु कार्यवाहक प्रधानमन्त्री बन्ने सन्देश पनि सुनाईसकेका थिए । तर ओलीले आइतबारको मन्त्री परिषद् बैठकमा कार्यवाहक दिने कुनै संकेत नै नगरी पोखरेलको सपनामा पानी खन्याईदिएका हुन् ।  ओलीले अत्यावश्यक काममा हतारो गर्दै पार्टीसँगको समन्वयमा पनि काम नगरी आफु मनखुसी निर्णय गरेर अस्पताल भर्ना हुन पुगेका छन् ।

चिनका लागि नेपाली राजदुत लिलामणि पौडेललाई कार्यकाल सकिनै लाग्दा फिर्ता बोलाउने र महेन्द्र बहादुर पाण्डे पठाउने, कृषि विश्वविद्यालय बाहेकका अन्य विश्व विद्यालयमा उपकुलपति नियुक्त गर्ने र त्यसमा आफु निकटलाई मात्रै पठाउने जस्ता निर्णय उनले गरेर अस्पताल भर्ना हुन पुगेका छन् । 

यी निर्णय गर्दा पार्टीभित्र इतर समुहका कसैलाई पनि उनले अवसर दिएका छैनन् । आफु निकटलाई नै छानीछानी ओलीले नियुक्ति गरेर अस्पताल भर्ना हुन पुगेका छन् । ओली आफ्नाभित्रका लाई पनि झट्ट विश्वास नगरिहाल्ने र आफु इतरलाई पनि पेलेरै जाने योजनामा देखिएका छन् । सोही कारण पनि आफ्नै समुहकै भएपनि इश्वर पोखरेलको सपना तुहाईदिने काम प्रधानमन्त्री ओलीले गरेका छन् ।