काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लो आइतबार छुट्टै रौनक थियो । फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेकाले प्रधानमन्त्री सचिवालयका सदस्यहरू भेला भएका थिए । उनलाई जन्मदिनको शुभकामना दिँदै सानो केक पनि काटेका थिए ।प्रधानमन्त्री निवासमा प्रायः देखिइरहने एक महिला पनि त्यहाँ उपस्थित थिइन् ।
केही समययता प्रधानमन्त्री निवासमा बाक्लै आउजाउ गरिरहेकी ती महिला नातेदार हुन् भन्नेबाहेक सचिवालयमै कार्यरत धेरैलाई उनको परिचय थाहा थिएन । त्यस दिन भने प्रधानमन्त्री ओली आफैंले ती महिलाको परिचय गराए । सचिवालयका उपस्थित सदस्यहरूलाई ओलीले भने, ‘मलाई मिर्गौला दिने उनी नै हुन् ।’ प्रधानमन्त्रीले सचिवालयका सदस्यहरूलाई मिर्गौला दाताका रूपमा चिनाइएकी ३२ वर्षीया ती महिला झापाकी हुन् ।
नातामा उनी ओलीकी ‘भान्जी’ पर्छिन् । नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा लगभग १३ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले अस्वीकार गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेका थिए । त्यसपछि सम्भावित दाता खोज्न थालिएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने अर्को गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण गरिएको थियो ।
ससुरालीतर्फ नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी र उनको मिर्गौलामा पनि केही समस्या देखिएकाले घरतर्फबाट नाता पर्ने झापाकी महिलाबाट मिर्गौला लिने निष्कर्षमा चिकित्सकहरू पुगेका हुन् । झापा, चारआलीकी ३२ वर्षीया ती महिला पहिले ओलीलाई मिर्गौला दिने अन्जान घिमिरेकी भान्जी हुन् । त्यस हिसाबले उनी प्रधानमन्त्रीकी पनि ‘भान्जी’ नाता पर्ने पारिवारिक स्रोतहरूको भनाइ छ । अन्जान प्रधानमन्त्री ओलीकी भाइबुहारी हुन् । ओलीका भाइ तारा ओलीकी श्रीमती उनी राष्ट्रपति कार्यालयमा कार्यरत छिन् ।
स्रोतका अनुसार भान्जी पर्ने महिलाको दाहिनेतर्फको ‘१०.२ बाई ३.८ सीएम’ आकार रहेको मिर्गौला झिकेर प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिनेछ । उनको देब्रेतर्फको मिर्गौलामा निकै मसिना सिस्ट (फोका) देखिएकाले दाहिने मिर्गौला प्रधानमन्त्रीका लागि उपयुक्त हुने निष्कर्षमा चिकित्सकहरू पुगेको स्रोतको दाबी छ । दाता महिलाको गतसाता नै सबै शारीरिक परीक्षणहरू सकिएको छ। उनको र प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था प्रत्यारोपणका लागि अनुकूल रहेकाले चिकित्सक टोली बुधबारै प्रत्यारोपण गर्ने निर्णयमा पुगेको हो ।
चिकित्सकहरू गत मंसिर अन्तिमतिर नै प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा जुटेका थिए । तर एपेन्डिसाइटिस र पेरिटोनाइटिसको समस्याका कारण आकस्मिक रूपमा ल्यापरोटोमी नै गर्नुपरेपछि प्रत्यारोपणको मिति धकेलिएर अहिले आइपुगेको हो । यसबीचमा ओलीको प्रत्येक साता नियमित डायलसिस गर्ने गरिएको थियो । डायलसिस गर्दै ओली आफ्नो नियमित काममा जुटिरहेका थिए । डायलसिस र नियमित परीक्षणका लागि ओली त्रिवि शिक्षण अस्पताल गइरहन्थे । त्यस क्रममा उनले अहिलेकै अवस्थामा मिर्गौला प्रत्यारोपण गरे सफल हुने सम्भावना कति रहन्छ भनेर सोधिरहने गरेको स्रोतले बतायो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १९ फागुन २०७६, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिको ध्यानाकर्षण
सिंगापुरको प्रधानमन्त्रीमा पुनः लरेन्स वङ विजयी
प्रधानमन्त्रीसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु, पौने २ खर्बका ७१ परियोजना सोकेसमा
श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ : प्रधानमन्त्री