दुर्घटनामा एकको मृत्यु १५ घाइते

रासस

शनिबार, १७ फागुन २०७६, २१ : २५
दुर्घटनामा एकको मृत्यु १५ घाइते

काठमाडौँ । पुर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको छट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १५ यात्रु घाइते भएका छन् । 

सिरहाको मिर्चैया नगरपालिका–२ मल्हनियाँचौकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ७ ख ५७९ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा कर्जन्हा नगरपालिका–६ बडरा निवासी साइकलयात्री २० वर्षीय पुजन सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका सदाको मिर्चैयास्थित मङ्गलम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकास्थित गागन खोला नजिक सडकमा आज बेलुका माइक्रोबस दुर्घटना हुदाँ १५ जना यात्रु घाइते भएका छन् । त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ ।  

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ६४५८ नम्बरको माइक्रोबसको पछाडिको पाङ्ग्रा खुस्किएर अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार १५ जना यात्रु घाइते भएका हुन् । घाइतेमध्ये धनुषाको महेन्द्रनगर निवासी ६५ वर्षीया रामरतीदेवी महरा, ठेगाना खुल्न नसकेको ५५ वर्षीय गोपाल दास, धनुषाको मेगाडाबर निवासी ६६ वर्षीय जगदीश महतोको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेको धनगढीमाई नगरपालिकास्थित आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ भने अन्यको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले जनाएको छ ।