मगरलाई प्रयोगका पात्र मात्र बनाइयो : मुख्यमन्त्री राउत

रासस

विहीबार, १५ फागुन २०७६, २१ : ५५
मगरलाई प्रयोगका पात्र मात्र बनाइयो : मुख्यमन्त्री राउत

फाईल फोटो

काठमाडौं । मुख्यमन्त्री लालबाबु राउतले हरेक कालखण्डमा मुलुकका लागि ज्यानको आहुती दिने मगर समुदायलाई शासक वर्गले प्रयोगको पात्र बनाएको बताउनुभएको छ । नेपाल मगर सङ्घको ३८औँ स्थापना दिवसको अवसरमा प्रदेश नं २ को कमिटीले रौतहटको मङ्गलपुरमा आज आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले राज्यको हरेक परिवर्तनको अग्रपक्तिमा रहने मगर समुदायलाई आज पनि आफनो पहिचानको लागि सङ्घर्ष गर्ने अवस्था रहनु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “पृथ्वीनारायण शाहको राज्य विस्तार होस् वा राणाविरुद्धको आन्दोलन वा माओवादीको जनयुद्ध सबैमा मगर समुदायको भूमिका महत्वपूर्ण रह्यो तर सबैले मगर समुदायलाई प्रयोग मात्र गरिरहे, यो अन्यायपूर्ण हो ।”

मुख्यमन्त्री राउतले पहिचानको लागि विभेद्मा रहेका मधेशी, आदिवासी जनजाति, दलित, महिला मुस्लिमलाई एक हुनु विकल्प नरहेको बताउनुभयो । अहिलेको शासन सत्ता सञ्चालन गर्नेहरु समेत एक जाति एक भाषालाई मात्र प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै उहाँले पहिचानको लागि पुनःआन्दोलन गर्नुपर्ने बताउनुभयो ।

पहिचानको आधारमा गठन भएको प्रदेश २ को सरकार प्रदेशमा बसोबास गर्ने सबै समुदायको पहिचान स्थापित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रदेश २ को नामकरण पहिचानकै आधार मधेश प्रदेश हुने दाबी गर्नुभयो । मगर सङ्घका प्रदेश अध्यक्ष यमबहादुर खपाङ्गी मगरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसभासद् रामकुमार भट्टराई, मगर सङ्घका इन्चार्ज लेखराज मगरलगायतका वक्ताहरुले बोल्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस