दुई छोराछोरी छाडेर अर्को विवाह गर्ने तयारी गरेको भन्दै बिहे रोक्न माग

रासस

विहीबार, १५ फागुन २०७६, १३ : १२
दुई छोराछोरी छाडेर अर्को विवाह गर्ने तयारी गरेको भन्दै बिहे रोक्न माग

भजनी । टीकापुर नगरपालिका वडा नं १ गणेशपुर बस्ने एक महिलाले दुई छोराछोरी छाडेर अर्को विवाह गर्ने तयारी गरेको भन्दै आफन्तले गुहार मागेका छन् । तेह्र वर्षीया छोरी र १० वर्षका छोरालाई छाडेर मीना चौधरीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ७ बस्ने छङ्गा रानासँग विवाह गर्ने तयारीका साथ विवाह कार्डसमेत छपाएपछि आफूहरुलाई थाहा भएको पहिलेका श्रीमान्की फूपू पर्ने राजकुमारी डगौराले बताउनुभयो । 

    उहाँले दुई छोराछोरीलाई अलपत्र पारी अर्को विवाह गर्न लागेको भन्दै विवाह रोकिदिनका लागि इलाका प्रहरी कार्यालय टीकापुरमा जाहेरी दिँदा प्रहरीले जाहेरी लिन नमानेको बताउनुभयो । पहिलेका श्रीमान्सँग सम्बन्धविच्छेद गरी प्रक्रियाअनुसार अर्को विवाह गर्नु स्वभाविक भए पनि यही अवस्थामा विवाह रोकिदिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

    जानकी गाउँपालिका वडा नं ५ पथरैया माइत भएकी मीनाले श्रीमान् बुधराम चौधरीको नामबाट नेपाली नागरिकता लिएको फूपू डगौराले बताउनुभयो । यस विषयमा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मनोहरप्रसाद भट्टले उमेर पुगेको महिलाले विवाहित भए पनि अविवाहित केटासँग दुवैको इच्छाअनुसार विवाह गर्नका लागि कुनै पनि कानूनले रोक नलगाएको बताउनुभयो । उहाँले कानूनी प्रक्रियाका लागि प्रशासनमार्फत जानुपर्ने बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस