आचारसंहिता मिच्ने प्रधानमन्त्री ओलीबाटै अर्को आचारसंहिता कार्यान्वयन गर्न निर्देशन

बुधबार, १४ फागुन २०७६, १४ : ३४
आचारसंहिता मिच्ने प्रधानमन्त्री ओलीबाटै अर्को आचारसंहिता कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको आन्तरिक जीवनलाई सरल बनाउन भन्दै आचारसंहिता जारी गरेपनि सोही पार्टीका नेतृत्वबाट आचारसंहिताको उलंघन भएको पाइएको छ । केही दिनअघि मात्रै आचारसंहिचा विपरित प्रधानमन्त्री केपी शर्मा ओलीले नै राजसी शैलीमा जन्मदिन मनाएको भन्दै चर्को आलोचना हुने क्रम रोकिएको छैन । 

यस्तै अन्य नेता कार्यकर्ताको विषयमा पनि उत्तीकै प्रश्न उठिरहेको बेला सो पार्टीले फेरि आचारसंहिताका सम्बन्धमा अर्को कडा निर्देशन जारी गरेको छ । फागुन ११ गते नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष परिपत्र–८ जारी गर्दै आचारसंहिता कार्यन्वयनमा जोड दिएका हुन् । यो सर्कुलर अघिल्लो परिपत्रकै निरन्तरता भएको बताइएको छ । 

‘सवै तहका पार्टी कमिटी र संगठित तथा साधारण सदस्यहरुले पार्टी केन्द्रबाट जारी गरिएको आचारसंहिता पालना गर्ने, गर्न लगाउने र त्यस सन्दर्भमा आफूलाई उदाहरण बनाउने’, नेकपाको विशेष परिपत्रमा भनिएको छ । ११ बुँदे परिपत्रमा नेकपाले आगामी २०७६ चैतभित्र पार्टीका संगठित सदस्य र साधारण सदस्यहरुको सदस्यता नवीकरण सम्पन्न गरिसक्न निर्देशन पनि दिएको छ । 

यसअघि नेकपाले २०७७ असारभित्र नवीकरण भएका सबै संगठित सदस्य तथा साधारण सदस्यलाई पार्टी कमिटी र पार्टी सेलमा संगठित गरिसक्न विशेष परिपत्र – ७ मार्फत निर्देशन दिएको थियो । सोही निर्देशनको प्रभावकारी कार्यान्वयनका लागि विशेष परिपत्र – ८ जारी गरेको नेकपाले जनाएको छ । 

परिपत्रमा केन्द्रीय कमिटी र प्रदेश कमिटीका सदस्यले आ–आफ्नो कार्यक्षेत्र अन्तर्गतका जिल्ला कमिटीसँग समन्वय गरी निर्धारित समयभित्र संगठित सदस्यता तथा साधारण सदस्यता नवीकरण सम्पन्न गर्न र विधानबमोजिम पार्टी कमिटी वा पार्टी सेलमा संगठित गर्न सक्रिय सहयोग गर्न भनिएको छ । 

साथै तोकिएको समयभित्रै नवीकरण शुल्क र लेबी बुझाई सदस्यता नवीकरण गरेर अनिवार्य रुपमा सधारण सदस्यता पत्र वा संगठित सदस्यता पत्र प्राप्त गर्ने व्यवस्था मिलाउन भनिएको छ । यसरी नविकरण गरी परिचय–पत्र प्राप्त गरेका संगठीत सदस्यहरुलाई आगामी २०७७ असार मसान्तभित्र पार्टीको टोल, प्रारिम्भक कमिटी वा कुनै न कुनै कमिटीमा संगठित गराउन निर्देशन दिएको छ । 

सदस्यता नवीकरण लगत्तै संगठित सदस्य र साधारण सदस्यहरुलाई प्रशिक्षण गर्नका निम्ति पार्टी स्कूल विभागले प्रत्येक प्रदेश र जिल्लामा प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गर्न भनिएको छ । 

नेकपा एकीकरण भएको दुई वर्ष पुग्ने लागेपछि भावनात्मक रुपमा भने अझै एकता भएको देखिँदैन । गुटगत टिकाटिप्पणीले यसको झल्को दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस