इजराइली सैनिकको स्मार्टफोनमा महिलाको तस्बिर पठाएर ह्याक गरिएपछि...

एजेन्सी

मंगलबार, ०६ फागुन २०७६, १३ : ०३
इजराइली सैनिकको स्मार्टफोनमा महिलाको तस्बिर पठाएर ह्याक गरिएपछि...

एजेन्सी । इजराइलका दर्जन बढी सैनिकको स्मार्टफोनमा महिलाको तस्बिर पठाएर ह्याक गरिएको इजराइली सेनाले जानकारी दिएको छ ।

सेनाका एक प्रवक्ताका अनुसार सैनिकलाई युवतीको तस्बिर पठाइएको थियो र उनीहरुलाई एउटा एप्लिकेशन डाउनलोड गर्न लोभ्याइएको थियो ।

सैनिकलाई उक्त एप्लिकेशनले आफ्नो फोन ह्याक हुने बारे थाहा थिएन ।

इजराइली सेनाले उक्त ह्याकिङ हमास संगठनसँग सम्बन्धित व्यक्तिहरुले गरेको आरोप लगाएका छन् ।

गजामा नियन्त्रण गर्ने चरमपन्थी गुट हमास र इजराइलबीच पुरानो दुश्मनी छ ।

इजराइली सेनाका प्रवक्ता कर्नल जोनाथन कार्निकसका अनुसार इजराइली सैनिकको फोन ह्याक गर्ने हमासको यो तेस्रो र अहिलेसम्मको सबैभन्दा जटिल प्रयास थियो ।

उनले भने, ‘उनीहरुले सिकिरहेका छन् र आफ्नो क्षमतालाई बढाइरहेका छन् । यो हामीले महसुस गरेका छौं ।’

कर्नल कार्निकसका अनुसार ह्याकरले टुटेफुटेको हिब्रु बोल्ने र प्रवासी भएको दाबी गर्ने युवतीको रुप धारण गरे ।

सैनिकसँग दोस्ती बढाएपछि ती युवतीहरुले केही लिङ्क पठाए र यसमार्फत् आफूले तस्बिर पठाउने जानकारी दिए ।

वास्तवमा, त्यो एउटा भाइरस थियो जसले स्मार्टफोन ह्याक गर्ने गर्छ ।

एकपटक क्लिक गरेपछि यो लिंक ह्याकरलाई स्मार्टफोनको डाटा, लोकेशन र तस्बिरको एक्सेस दिने गर्छ ।

यतिमात्रै होइन, यसलाई फोन नियन्त्रण पनि गर्न सकिन्छ र प्रयोग गर्ने व्यक्तिको जानकारी बिना नै तस्बिर र आवाज रेकर्ड गर्न सकिन्छ ।

कर्नल कार्निकसका अनुसार इजराइली सेनालाई यो षड्यन्त्रबारे महिनौं अघि थाहा भएको थियो र आफ्नो निगरानीमा यसलाई चल्न दिइयो । पछि यसलाई बन्द गरिएको थियो ।

इजराइली सेनाले पहिले पनि आफ्ना सैनिकलाई सतर्कतापूर्वक स्मार्टफोन प्रयोग गर्न चेतावनी दिइसकेको छ ।

इजराइल र हमासबीच दशकौंदेखि संघर्ष चलिरहेको छ र यी दुबै एक अर्काको जासुसी गर्न जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस