कोरोना भाइरसको त्राससँगै तातोपानी नाका ठप्प

सफल खबर संवाददाता

मंगलबार, ०६ फागुन २०७६, १० : २५
कोरोना भाइरसको त्राससँगै  तातोपानी नाका ठप्प

file photo

सिन्धुपाल्चोक । कोरोना भाइरसको त्रास फैलिएसँगै नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि ठप्प छ । नाका ठप्प हुँदा  चिनियाँ सामान आयात शून्य भएको छ ।

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार चीनमा फैलिएको कोरोना भाइरसको त्रासका कारण सामानहरु आउन नसकेको जनाएको छ । कार्यालयले यो एउटा मुख्य कारण भएपनि अर्को चिनियाँको महìवपूर्ण पर्व ल्होसारले गर्दा पनि दुई देशबीचको व्यापारिक कारोबार हुन सकेको छैन ।

दुई हप्तादेखि चिनियाँलाई नेपाल प्रवेश र नेपालीलाई चिनियाँ भूभागमा जान दिइएको छैन । दुवै देशको आवतजावतमा रोक लगाइएपछि चीनबाट नेपालमा सामान आयात भएको छैन । गत जेठ १५ गतेबाट तातोपानी नाका सुचारु भए पनि हालसम्म नेपालबाट चीनमा निर्यात भएको छैन ।

नेपाली व्यापारी, व्यवसायी सामान लिन चिनियाँ भूभाग गएका छैनन् भने कन्टेनर चालक, सहचालक र मजदुर सीमामा कन्टेनर थन्क्याएर घर फर्केका छन् । भन्सारका कर्मचारी पनि हाजिर गरेर फुर्स्दिला भएका छन् । भन्सारमा व्यापारी, व्यवसायीको उपस्थिति पनि देखिँदैन नाकाबाट कारोबार कहिले सुचारु हुन्छ निश्चित भएको छैन ।

दुई देशबीच आउजाउ नभएका कारण पर्यटकसमेत हालसम्म ओहोरदोहोर गर्न पाएका छैनन् । चालू आवको साउनयता माघ मसान्तसम्म तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट एक अर्ब सात करोड रुपियाँ राजस्व सङ्कलन भएको तथ्यांक छ । 

प्रतिक्रिया दिनुहोस