सञ्चारमाध्यमहरुले बाँसुरी बजाएको देखे, विकास देखेनन्

सफल खबर संवाददाता

सोमबार, ०५ फागुन २०७६, १३ : ४७
सञ्चारमाध्यमहरुले बाँसुरी बजाएको देखे, विकास देखेनन्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सञ्चारमाध्यमप्रति असन्तुष्टि पोखेका छन् । उनले सञ्चारमाध्यमहरुले आफूले बाँसुरी बजाएको देखेका तर विकास नदेखेका भन्दै असन्तुष्टि पोखेका छन् । 
सोमवार काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्षी परियोजनाको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेको कामका बारेमा कसैले नलेख्ने भन्दै आक्रोश व्यक्त गरेका थिए ।

उनले राम्रो काम गर्दा कसैकसैलाई पीर परेको टिप्पणी गरे । उनले भने,  ‘सरकारले धेरै राम्रा काम गरिरहे पनि समाचार भने मैले बाँसुरी बजाएको मात्र आयो , विकास त आएन । विकास र सुशासनको कामलाई तीव्रता पार्दा कोही कसैलाई भने ज्यादै पिर परेको छ ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जबाट उक्त परियोजनाको कार्य आरम्भ गरेका हुन् । पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको भूमिगत बनाउने कार्यक्रमको शिलान्याशपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको नयाँ अध्याय शुरु भएको बताए ।

उनले विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने उल्लेख गर्दै कुरुपताको अन्त्य हुने विश्वास व्यक्त गरे । विद्युत्, टेलिफोनलगायत तार भूमिगत गर्ने काम काठमाडौँको महाराजगञ्जबाट शुरु भए पनि यसलाई देशका प्रमुख शहरमा विस्तार गरिने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीले देशभर नै तुइन विस्थापनको काम अगाडि बढेको भए पनि एकाध स्थानमा रहेको तुइन देखाएर सरकारको आलोचना गरिएको बताए ।

उनले दार्चुलामा मात्र दुईवटा तुइन बाँकी रहेको भन्दै त्यसैलाई देखाएर आलोचना गर्नुको कुनै अर्थ नहुने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भए पछि दैनिक छ किलोमिटरको दरले सडक कालोपत्र भएको र दुई वर्षको अवधिमा करीब तीन हजार किलोमिटर सडक कालोपत्र भएको तथ्याङ्क पेश गरे ।

 

प्रतिक्रिया दिनुहोस