कोरोना प्रभावितका नाममा प्रार्थना

रासस

आइतबार, ०४ फागुन २०७६, १८ : ४५
कोरोना प्रभावितका नाममा प्रार्थना

ललितपुर । चीनको उहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएकाको स्मृतिमा दीप प्रज्वलन तथा प्रार्थना गरिएको छ । नेपाल चाइनिज गाइड एसोसिएसन नेग्गाद्वारा पाटनस्थित ऐतिहासिक एवं धार्मिक महत्व रहेको हिरण्यवर्ण महाविहारमा दीप प्रज्वलन गरी दिवङ्गत आत्माको चिरशान्तिको कामना गरिएको हो ।

 सङ्क्रमणबाट दिवङ्गत भएकाहरुको सम्झना तथा उपचाररत बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महाविहारका पुजारी तथा स्थानीयवासीको सहयोगमा प्रज्ञापारमितासमेत पाठ गरियो ।

   दीप प्रज्वलनमा सहभागीले चिनियाँ तथा नेपाली भाषामा ‘उठ चीन, जाग उहान’, ‘कठिन घडीमा–हामी साथमा छौँ’, ‘सङ्क्रमणविरुद्धको जीत निश्चित छ’ लगायतका नारा लोखिएको  प्लेकार्ड बोकेका थिए ।

   नेग्गाका अध्यक्ष निशान प्रधानले नेपालको असल मित्र र विकासको साझेदार चीनले भोग्नु कठिनाइको परिस्थितिमा हाम्रो साथ र सहयोगको सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताउनुुभयो ।
     
  साइनो नेपाल कल्चर एण्ड प्रमोसन सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले नेपालको मुख्य पर्यटन बजारको स्रोतलाई कायमै राख्न र छिमेकी मुलुकप्रतिको सकारात्मक सद्भाव राख्न यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुुभयो । 

    नेपालका चिनियाँ भाषी पथप्रदर्शकको आयोजनामा उक्त कार्यक्रम भएको थियो । नेपालमा करीब ४०० को सङ्ख्यामा चिनियाँ भाषाका पथप्रदर्शक क्रियाशील छन् । (रासस)