अचेत भेटिएकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको मृत्यु, कामदार पनि मृत फेला

सफल खबर संवाददाता

सोमबार, २७ माघ २०७६, १४ : २७
अचेत भेटिएकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको मृत्यु, कामदार पनि मृत फेला

काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी आफ्नै घरमा रगतले लतपतिएको अवस्थामा अचेत भेटिएकी थिईन् । 

उनको घरमा काम गर्ने दाङका विशेष चौधरी पनि मृत भेटिएका छन् । उनले भने आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनको शवमा कुनै चोटपटक छैन भने उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको पाइएको छ ।

सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा मुनाको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग सानेपाका इन्स्पेक्टर कोशिशवाबु जोशीले पुष्टि गरेका छन् । उनले भने, ‘स्टार अस्पतालका चिकित्सकहरुले कार्कीको श्रीमतीको उपचारको क्रममा मृत्यु भएको घोषणा गरेका हुन् ।’ 

अपराधस्थलमा खटिएका ललितपुर प्रहरी परिसर, जावलाखेलका एक अनुसन्धान अधिकृतका अनुसार भान्सामा रहेको पिर्का प्रहार गरेर कामदारले मुनालाई कुटपिट गरेको देखिएको छ ।
प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार मुनालाई पिर्काले टाउकोमा हानेर चौधरी आफू झुण्डिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस