एमसीसी कार्यदलको प्रतिवेदन कुर्दै नेकपा सचिवालय

पत्रपत्रिकाबाट

आइतबार, २६ माघ २०७६, ०७ : ४०
एमसीसी कार्यदलको प्रतिवेदन कुर्दै नेकपा सचिवालय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयलाई लिएर सकस बढेको छ।नेताहरूको फरक–फरक धारणा आइरहँदा एमसीसी पारित गर्ने कि नगर्ने भन्ने विषयमा अझै निर्णय लिन सकेको छैन।

केन्द्रीय समितिमा बहुमत सदस्यले एमसीसी पारित गर्न केही बुँदा संशोधन गर्नुपर्ने माग गरेपछि पार्टीले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरे पनि त्यसले अझै गति लिएको छैन। यद्यपि कार्यदलको बैठक दुईपटक बसिसकेको छ। कार्यदलका संयोजक खनालले एमसीसीबारे नेताहरूले उठाएको संशोधन गर्नुपर्ने बुँदामा अध्ययन भइरहेको बताउनुभयो।

गत १९ गते सम्पन्न केन्द्रीय समिति बैठकले खनाल कार्यदललाई १० दिने म्याद दिएकाले बाँकी चार दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने बाध्यता छ। नेकपाका नेताहरूले एमसीसी अस्वीकार गर्ने भनेका भने छैनन्। तर स्थायी समिति सदस्य एवं कार्यदलका सदस्य भीम रावलले भने संशोधन गर्नुपर्ने १० बुँदे फरक मत केन्द्रीय समितिमा बुझाइसक्नुभएको छ। उहाँले कार्यदलमा पनि सोही अडान दोहोर्याउनुभएको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीमा रहेका अस्पष्ट विषय प्रस्ट पारेर पारित गर्ने पक्षमा आफू रहेको बताउनुभएको छ। शनिबार कान्तिपुर टेलिभिजनसँगको परिसंवाद कार्यक्रममा प्रचण्डले सोध्नुभएको छ– ‘भारतको पनि सहमति लिनुपर्छ भनिएको रहेछ। त्यो भनेको के होरु’

उहाँले अमेरिकासँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको उदाहरण दिँदै अमेरिकाले एमसीसीमार्फत अनुदान दिन लागेको अर्बौँ रकम नेपालका लागि अवसर भएको बताउनुभयो। अमेरिकाको तर्फबाट प्रस्ट गर्नुपर्ने केही विषय भए त्यसतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो। आजको नेपाल समाचारपत्रमा खबर छ । 

प्रतिक्रिया दिनुहोस