स्थानीय तह बन्द, नगर प्रमुखलाई दुव्र्यवहार गर्ने तीन पक्राउ

रासस

विहीबार, २३ माघ २०७६, २० : ५८
स्थानीय तह बन्द, नगर प्रमुखलाई दुव्र्यवहार गर्ने तीन पक्राउ

काठमाडौं । सप्तरीको डाकनेश्वरी नगरपालिकाका प्रमुखमाथि हातपात भएको विरोधमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नगरप्रमुख शिवनारायण साहमाथि दुव्र्यवहार गर्दै कर्मचारीमाथि हातपात गरेको आरोपमा डाक्नेश्वरी नगरपालिका वडा नं ३ का राजीवकुमार राय, वडा नं ५ का अमरेन्द्र यादव र वडा नं ७ का अर्जुन यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

घटनालगत्तै पक्राउ परेका तीन जनासहित पाँच जनाविरुद्ध नगरप्रमुख साहले आज जिल्ला प्रहरी कार्यालयमा गालीबेइज्जतीको उजुरी दिनुभएको छ । पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गरी अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभयो ।

डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा सहभागी हुन कर्मचारीसहित गइरहनुभएका नगरप्रमुख साहमाथि आरोपितले मङ्लबार दुव्र्यवहार गर्दै कर्मचारीमाथि हातपात गरेको प्रमुख साहले बताउनुभयो । 

नगरप्रमुख साहमाथि भएको हातपातको विरोधमा आज जिल्लाका १८ वटै स्थानीय तहले सेवा बन्द गरेका छन् । नगरप्रमुख साहमाथि भएको आक्रमणको विरोध गर्दै राजविराजस्थित जिल्ला समन्वय समिति सप्तरीमा बसेको बैठकले आज जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय गरेबमोजिम बन्द भएको हो । 

प्रतिक्रिया दिनुहोस