कोको हुन् राजीनामा दिएर विदेशी आइएनजिओमा घुस्ने मुख्यसचिव तथा सचिवहरु ?

सफल खबर संवाददाता

मंगलबार, २१ माघ २०७६, १६ : ०४
कोको हुन् राजीनामा दिएर विदेशी आइएनजिओमा घुस्ने मुख्यसचिव तथा सचिवहरु ?

काठमाडौ । झन्डै दुई वर्षको सयम बाँकी हुँदा कृषिसचिव डा युवकध्वज जिसीले राजीनामा गरे । उनको राजीनामाको कारण हो–संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) को जागिर । सोही जागिरको लागि उनले कृषिको सचिव पदको जागिर मिल्काइदिए । 

एफएओले छनोट गरेपछि उनले विशिष्ट श्रेणीको कर्मचारीबाट राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको छैन । 

डा जिसीले मात्र होइन, यसअघि मुख्यसचिव छँदै डा सोमलाल सुवेदीले राजीनामा दिएर एसियाली विकास बैंक (एडिबी) को जागिर खान फिलिपिन्स गए । एडिबीका लागि सरकारले नै उनलाई मनोनयन गरेको थियो । मुख्यसचिवबाट राजीनामा दिएर सुवेदी १ साउन ०७४ मा नेपालको तर्फबाट एडिबीको वैकल्पिक निर्देशक बनेर फिलिपिन्सको मनिला गएका थिए ।

यस्तै, सचिवको कार्यकाल दुई वर्ष बाँकी छँदै स्वास्थ्य सचिव डा. पुष्पा चौधरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा जागिरे कर्मचारीका रूपमा आबद्ध भइन् । सरकारले राजीनामा स्वीकृत नगर्दै उनले डब्लुएचओमा जागिर सुरु गरिन् । त्यही जागिरका लागि उनले १३ कात्तिकमा सचिवबाट राजीनामा बुझाएकी थिइन् । तर, सुरुमा उनको राजीनामा मन्त्रिपरिषद्ले अस्वीकृत गरेको थियो । आफ्नो राजीनामा अस्वीकृत गर्ने निर्णय पुनर्विचार गरिदिन निवेदन दिएर चौधरी पुनः सम्पर्कविहीन भएकी थिइन् ।

सरकारसँगको सम्पर्कबाहिर पुगेकी उनले राजीनामा स्वीकृत नहुँदै डब्लुएचओमा काम थालिन् । गत २७ पुसमा मात्र सरकारले उनको राजीनामा स्वीकृत गरेको थियो ।

यस्तै, डा. सुधा शर्मा पनि बीचमै राजीनामा दिएर बाहिरिने विशिष्ट श्रेणीको कर्मचारीभित्र पर्छिन् । उनले ०६८ पुसमा पदबाट राजीनामा दिएकी थिइन् । साढे दुई वर्ष कार्यकाल बाँकी छँदै शर्मा स्वास्थ्य सचिवबाट राजीनामा दिएर युनिसेफको तान्जानियास्थित स्वास्थ्य तथा पोषण प्रमुख तहमा काम गर्न गएकी थिइन् । 

विशिष्ट कर्मचारीहरु नै जागिर छोडेर अन्तर्राष्ट्रिय आइएनजिओमा जानुलाई आकर्षक तलब र सेवा–सुविधा नै प्रमुख कारण हो। अर्को, व्यावसायिक विकासको पक्ष पनि हो । अन्तर्राष्ट्रिय संघ–संस्थामा काम गर्दा व्यावसायिक विकास हुने लालचले पनि उनीहरू त्यतातिर आकर्षित हुन्छन् । नेपालमा सरकारी सेवावधि सकिएपछिको भविष्य नदेखेपछि र उमेर बाँकी नै हुँदा उनीहरूले विकल्प खोजिरहेका हुन्छन् । 

विशिष्ट श्रेणीको व्यक्ति नै सरकारी सेवा छाडेर गएपछि यसले सरकारी सेवाको समग्र वातावरणमै असर गर्छ । यो नितान्त व्यक्तिगत विषय पनि हो, सँगसँगै सरकारले पनि सोच्ने विषय हो । सरकार आफैँले अघिल्लो दिन राजीनामा दिन लगाएर भोलिपल्ट संवैधानिक अंगमा नियुक्त गरेको उदाहरण पनि छ । सरकारले गरेको चाहिँ नैतिक हुने, व्यक्तिले गरेको अनैतिक हुने भन्ने पनि हुँदैन । सेवानिवृत्त भएपछि एक–दुई वर्ष ‘कुलिङ पिरियड’ राख्यो भने पनि यसले थिति बसाउन मद्दत गर्छ । यसर्थ, यसका लागि एउटा प्रणाली नै बसाउनु जरुरी छ ।

किन छाड्छन् जागिर ?

निजामती सेवामा सबैभन्दा ठूलो पद मुख्यसचिव हो । त्यसपछि सचिव हुन्छ । तर, विशिष्ट श्रेणीको कर्मचारी भएकै अवस्थामा जागिर छाडेर विदेशी संघ–संस्थामा काम गर्न जाने प्रवृत्ति बढेको छ । पूर्वमुख्यसचिव विमल कोइराला सेवानिवृत्त भएपछि एक–दुई वर्ष ‘कुलिङ पिरियड’ राख्न सके यस्ता प्रवृत्ति निरुत्साहित हुने बताउँछन् । जागिरे समय सकिएपछि भविष्य नदेखेर जानेहरू पनि प्रशस्तै रहेको उनको भनाइ छ । 

पूर्वसचिव शान्तराज सुवेदी बहालवाला कर्मचारी बीचैमा छाडेर युएन, एजेन्सीलगायतमा जागिर खान जानु राम्रो नहुने बताउँछन् । ‘जिम्मेवारीमै रहेको कर्मचारी एकैपटक राजीनामा बुझाएर जाँदा त्यहाँ सरकारको गोपनीयता भंग हुने विषय आउँछ । देश र जनताको सेवाका लागि शपथ खाएको व्यक्ति बीचैमा छाडेर अन्तर्राष्ट्रिय संघ–संस्थामा जागिर खान जानु गैरजिम्मेवारीपन हो,’ सुवेदीले भने ।

राजीनामा दिने मुख्यसचिव तथा सचिवहरू :


भेषबहादुर थापा : अर्थसचिव छाडेर सिडामा परराष्ट्रविद्का रूपमा चिनिएका भेषबहादुर थापा नेपाल सरकारको अर्थसचिव थिए । थापाले सचिव पदमा भन्दा क्यानडाको एउटा प्रोजेक्टमा आकर्षण देखे । 

रामविनोद भट्टराई : अर्थसचिवभन्दा एडिबी प्यारो अर्थसचिवमै रहेका वेला रामविनोद भट्टराईले पनि सरकारले दिएको जिम्मेवारी बीचमै लत्याएका थिए । उनी अर्थसचिवको जिम्मेवारीबाट राजीनामा दिएर एसियाली विकास बैंकमा काम गर्न गएका हुन् ।

कर्णध्वज अधिकारी :  मुख्यसचिव त्यागेर एडिबीमा जागिरे तत्कालीन मुख्यसचिव कर्णध्वज अधिकारी नेपाल सरकारका मुख्यसचिव थिए ।

नवराज भण्डारी :  नेपाल सरकारका राजस्वसचिव नवराज भण्डारीले २५ साउन ०७२ मा राजीनामा दिए । सचिवका रूपमा समयावधि कायमै रहँदा राजीनामा दिएर उनी निस्केका हुन् । सरकारले डिभी–पिआर भएका कर्मचारीले कि सेवा छाड्नुपर्ने कि डिभी–पिआर छाड्नुपर्ने गरी कानुन संशोधन गरेलगत्तै भण्डारीले राजस्वसचिवबाट राजीनामा दिएर अमेरिकाको डिभी रोजेका थिए ।

विष्णुप्रसाद धिताल : कृषिसचिव त्यागेर विश्व खाद्य कार्यक्रममा कृषिसचिवको जिम्मेवारीमा रहेका विष्णुप्रसाद धिताल पनि सेवाअवधि बाँकी रहँदै जागिर छाडेर विश्व खाद्य संगठनमा काम गर्न पुगेका थिए । 

भरतबहादुर प्रधान : अर्थसचिवबाट राजीनामा दिएर विश्व बैंक अर्थसचिव भएकै वेला भरतबहादुर प्रधान पनि राजीनामा दिएर हिँडेका थिए । उनले सरकारको अर्थसचिवको जागिरभन्दा विश्व बैंकको जागिर रोजे ।
 

प्रतिक्रिया दिनुहोस