छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

रासस

शनिबार, १८ माघ २०७६, ११ : २८
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीमा दुईको मृत्यु भएको छ । बिपी राजमार्गअन्तर्गत यहाँको कमलामाई नगरपालिका–७ माझइीटारमा प्रदेश नं २ को ०२–००१ प २५१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलका अनुसार मोटरसाइकल चालक धनुषा जिल्ला महेन्द्रनगर–२ घर भई हाल छिरेश्वर नगरपालिका–६ निवासी २४ वर्षीय सुनिलकुमार राय राजपुतको र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २३ वर्षीय कृष्णकुमार गुप्ताको मृत्यु भएको हो ।

    दुवैको घटनास्थलमा नै मृत्यु भएको र शव सिन्धुली अस्पतालमा रहेको प्रहरीले बताएको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । आज बिहान कमलामाई नगरपालिका–७ सुनिता पेट्रोलपम्प नजिक सिन्धुलीबाट भिमानतर्फ जाँदै गरेको अवस्थामा आफैँ अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेको थियो । 

त्यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलरामा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार राति करिब १२ बजेतिर लोहारपुर घर भएका २२ वर्षीय मायाराम चौधरी पूर्वपश्चिम राजमार्गको गुलरा सडकखण्डमा से २ प १८५० नंं को मोटरसाइकलसँगै मृतावस्थामा भेटिनुभएको हो । 

    चुहामा व्यापार गर्दै आउनुभएको चौधरी लम्कीबाट घर जाने क्रममा राति गुलरा सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । 

    चौधरीलाई मृतावस्थामा देखेपछि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसका चालकले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । चौधरीको मृत्युपछि उहाँका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । राति ३ बजेबाट राजमार्ग अवरुद्ध पारेपछि पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतर्फ जाने सयौँ यातायातका साधनबीच बाटोमै अलपत्र परेका छन् ।  शव पनि राजमार्गबाट उठाइएको छैन । मृतकका आफन्तले कुनै गाडीले ठक्कर दिएको हुनसक्ने भन्दै छानबिन र क्षतिपूर्तिको माग गरेका छन् । 

त्यस्तै वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सुब्बा कुनास्थित ट्रक र ट्र्याक्टर जुध्दा ट्र्याक्टर चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्र्याक्टर चालक वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत निवासी ३४ वर्षीय प्रेम कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । 

    प्रदेश अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार बेलुका मृत्यु भएको प्रवक्ता बताउनुभयो । प्रवक्ता रावलका अनुसार शुक्रबार बिहान सुर्खेत विनपा–११ गङ्गा पेट्रोलपम्प नजिक सुब्बाकुनाबाट बजारतर्फ आउँदै गरेको लु१ख ७६७० नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको भे१त ७५८९ नम्बरको ट्र्याक्टर एकापसमा ठोक्किएका थिए ।
    
    उक्त घटनामा घाइते भएका ट्र्याक्टर सहचालक जुनीचाँदे गाउँपालिका–२ जाजरकोट निवासी ३२ वर्षीय कृष्णबहादुर शाहीको उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको जनाइको छ । ट्रकसहित ट्रक चालक तिलोत्तमा नगरपालिका–१६ रुपन्देही निवासी श्यामप्रसाद थारुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।