काठमाडौं । चीनको हुपे प्रान्तको राजधानी उहानबाट फैलिएको कोरोना भाइरस विश्वका २० मुलुकसम्म पुगेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी स्वास्थ्य संकट घोषणा गरेको छ । भाइरसबाट चीनमा मात्र २ सय १३ को ज्यान गएपछि डब्लूएचओले संकट घोषणा गरेको हो ।
डब्लूएचओले संकट घोषणा गरे पनि चीनको हुपे प्रान्तको उहान आसपास सहरका नेपाली विद्यार्थी १० दिनदेखि कोठाभित्र थुनिएर बस्न बाध्य छन् । उद्धारका लागि नेपाल सरकारले प्रयास नगरेको गुनासो उनीहरूको छ ।
‘के सरकारले हामीलाई संक्रमण भएपछि वा हामी मरेपछि लास लैजाने रहेछ ? ’, विद्यार्थीले विच्याट समूहमा लेखेका छन्, ‘हामी अहिले बन्दी जीवन बिताइरहेका छौं । भाइरसले कताबाट छुने हो तनावमा छौं । नयाँ वर्षमा लामो बिदामा जोहो गरिएको खाना अब एकदुई दिनमा सकिन्छ । किन्न जाने अवस्था छैन ।’
सँगै रहेका विदेशी विद्यार्थी धमाधम फर्किएपछि एक्लो महसुस गरिरहेको एक नेपालीले बताए । छिमेकी भारत, बंगलादेश, माल्दिभ्सले आफ्ना नागरिकलाई फिर्ता लगिसकेका छन् । श्रीलंका र पाकिस्तानले पनि आफ्ना विद्यार्थीलाई छिट्टै लैजाँदै छन् ।
हुपे प्रान्तको श्रीयनमा एमडी अध्ययन गरिरहेका अमित शर्माले सरकारसँग जतिसक्दो छिटो स्वदेश लैजान आग्रह गरे । ‘दैनिक संक्रमण बढिरहेको छ । तर, हामी १० दिनदेखि बाहिर निस्केका छैनौं । आफैँ चिकित्सक भएकाले पनि सुरक्षित हुने तरिका बुझेका छौं’, उनले भने, ‘सरकारले अहिले नै लगेर केही दिन क्वारेन्टाइन अर्थात् छुट्टै शिविर÷अस्पतालमा राखेर निगरानी गरे हुन्छ ।’
उक्त सहरमा ३० नेपाली छन् । ‘नेपाली विद्यार्थीलाई भाइरस देखिएको थाहा भएको छैन’, उनले भने । उहानस्थित ह्वाङजुङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी (हस्ट) मा अध्ययनरत नेपालीले शारीरिक रूपमा सुरक्षित रहेको बताउँदै यही अवस्थामा घर फर्कन जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १८ माघ २०७६, ०७ : ५७
लेखकबाट थप