सुर्खेत । टिपरको ठक्करबाट मङ्गलबार वीरेन्द्रनगरमा एक युवकको ज्यान गएपछि उत्पन्न तनाव अझै सेलाएको छैन । मृतकका आफन्त र स्थानीयवासीले आज बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन गर्नुका साथै यातायातका साधन चल्न दिएका छैनन् ।
टिपरधनी र चालकलाई जन्मकैदको सजाय हुनुपर्ने, आन्दोलनमा घाइते भएकाको उपचारका साथै उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित मृतकका आफन्त पुनः सडकमा उत्रिएका हुन् । वीरेन्द्रचोक, एरिचोकलगायतका स्थानमा तनाव बढेपछि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । वीरेन्द्रचोकमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीको लाट्ठी लागेर दैलेखका ११ वर्षीय विमल नेपाली घाइते हुनुभएको छ । उहाँको दाँत झर्नुका साथै ओठमा चोट लागेको छ । प्रहरीले सोही स्थानबाट आठ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
घटनाको तेस्रो दिनसम्म पनि सुर्खेतको अवस्था सामान्य हुन नसकेपछि व्यवसायीले प्रहरी प्रशासनप्रति आक्रोश पोखेका छन् । पीडित र पीडक पक्षबीच वार्ताको सहजीकरण गर्नुको साटो प्रहरी–प्रशासनले अनावश्यक धरपकड गरेको व्यवसायीको आरोप छ । सुर्खेत उद्योग वाणिज्य सङ्घले पनि प्रहरी प्रशासनले शान्ति सुरक्षा कायम गर्न नसकेको प्रतिक्रिया दिएको छ ।
पीडित परिवार सङ्घर्ष समिति संयोजक राजन सिंहले प्रशासनले समयमै टिपरधनीको खोजी गर्न नसकेकाले आन्दोलन गर्नुको विकल्प नभएको बताउनुभयो । सहमति हुन नसक्दा शव परीक्षण हुनसकेको छैन । शव प्रदेश अस्पताल कालागाउँमा राखिएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले टिपरधनी सम्पर्कमा आएकाले अहिले दुवै पक्षबीच वार्ता भइरहेको जानकारी दिनुभयो ।
“टिपरधनी हरि बिसी सम्पर्कमा आउनुभयो, अहिले वार्ता भइरहेको छ”, उहाँले भन्नुभयो । चालक वीरेन्द्रनगर–१० का राजकुमार बोहरालाई भने प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइसकेको छ । मङ्गलबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतम चोकमा भे१ख २२४२ नंको टिपरको ठक्करबाट कालीकोट महाबै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १६ माघ २०७६, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
राजधानीमा स्कुटर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
म्याग्दीमा जिप दुर्घटना, १ महिलाको मृत्यु, ३ जना घाइते
सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते
हेटौँडातर्फ जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते