नेकपा केन्द्रीय कमिटी बैठक आजदेखि : के के मा केन्द्रित छन् त प्रतिवेदनहरु

पत्रपत्रिकाबाट

बुधबार, १५ माघ २०७६, ०७ : ५१
नेकपा केन्द्रीय कमिटी बैठक आजदेखि : के के मा केन्द्रित छन् त प्रतिवेदनहरु

काठमाडौँ  ।  नेकपा केन्द्रीय कमिटी बैठक बुधबार सुरु हुँदै छ । पार्टी एकीकरणको २१ महिनामा दोस्रोपटक बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरूले भने पहिलोपटक धारणा राख्न पाउनेछन् ।

राष्ट्रिय सभागृहमा बिहान ११ बजे उद्घाटन हुने बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले उद्घाटन मन्तव्य र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए ।उनका अनुसार बुधबार नै महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संशोधन प्रस्ताव तथा सातै प्रदेशका अध्यक्षहरूले प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

अध्यक्ष र महासचिवको प्रतिवेदन आइसकेपछि समूह विभाजन गरेर छलफल चलाउने तयारी नेकपा सचिवालयले गरेको छ । सचिवालय सदस्य झलनाथ खनालका अनुसार एक समूहमा ३० जना रहने गरी १५ समूह बनाउने र उनीहरूलाई छलफलका लागि बुधबार र बिहीबारको समय दिने निर्णय सचिवालयको छ ।

नामको वर्णानुक्रमअनुसार तय गरिने समूहमध्ये ८ वटा समूहले राष्ट्रिय सभागृहमा, ४ वटा समूहले पार्टी कार्यालय धुम्बाराही र ३ वटा समूहले पार्टी कार्यालय पेरिसडाँडामा बसेर छलफल गर्नेछन् । सबैले १७ गते समूहगत निष्कर्ष सुनाएपछि १८ गते सचिवालय बैठक बसेर छलफल गर्ने र १९ गते अध्यक्षद्वयले जवाफ दिने कार्यतालिका रहेको सचिवालय स्रोतले जनाएको छ । समूहगत छलफलमा सचिवालय सदस्यहरू भने रहने छैनन् । नेकपाले बुधबारदेखि १९ गतेसम्मका लागि राष्ट्रिय सभागृहको हल बुक गरिसकेको छ ।


प्रतिवेदनमा आत्मालोचना बढी

पुस २९ गतेदेखि बसेको स्थायी कमिटी बैठकमा जस्तै केन्द्रीय कमिटी बैठकमा अध्यक्ष दाहालले आत्मालोचनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । ‘राजनीतिक प्रतिवेदनको सुरुवात नै केन्द्रीय कमिटीको बैठक बोलाउन अत्यन्त ढिलाइ भएको स्वीकार गर्दै त्यसको जिम्मेवारी नेतृत्वले नै लिने खालको आत्मालोचनात्मक छ,’ स्रोतले भन्यो । दाहालले स्थायी समितिले पारित गरेको राजनीतिक प्रतिवेदन र त्यसमा स्थायी समिति सदस्यहरूको सुझाव समेटेर आफ्नो प्रतिवेदन तयार पारेका हुन् । उनले पार्टीलाई अझै एकीकृत र सुदृढ बनाउन अभियान चलाउनुपर्ने, गुटबन्दी अन्त्य गर्नुपर्नेलगायत विषय पनि समेटेका छन् ।दाहालले पार्टीलाई एक ढिक्का पार्न सबैको साथ चाहिने भन्दै नेकपा र नेकपाको सरकारमाथि भइरहेको चौतर्फी आक्रमणविरुद्ध उभिन पार्टी पंक्तिलाई आग्रह गर्नेछन् । यसपालि अध्यक्ष दाहालले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पनि प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘एमसीसीबारे दाहालले मध्यमार्गी भाषा प्रयोग गर्नुहुनेछ,’ स्रोतले भन्यो।

गुटबाट माथि उठ्नुपर्छ’

नेकपा केन्द्रीय सदस्यहरूले पार्टीभित्र मौलाउँदै गएको गुट–उपगुट अन्त्यका लागि पहल गर्न नेतृत्वलाई सुझाव दिने भएका छन् । बुधबार काठमाडौंमा सुरु हुन लागेको केन्द्रीय कमिटीको बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टी एकता मजबुत पार्न गुटको राजनीति त्याग्नुपर्ने सुझाव दिने तयारी गरेका हुन् । प्रचार विभाग उपप्रमुखसमेत रहेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टी कमिटी भद्दा हुँदा निर्णय प्रणाली पार्टीको कमिटीबाट व्यक्तिमा सरेको बताए । ‘अहिले पनि नेकपाका सदस्य को हुन्, को होइनन् भन्ने छ,’ थापाले भने, ‘पार्टी व्यवस्थित नहुँदा गुट झाँगिएको छ, गुटमा भविष्य खोज्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस