चितुवा आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत

मंगलबार, १४ माघ २०७६, १० : २८
चितुवा आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत

दमौली । चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका १० वर्षीय इशक सुनारको परिवारलाई राहत रकम प्रदान गरिएको छ ।  डिभिजन वन कार्यालय तनहुँले किरिया खर्चवापत बालकको परिवारलाई आज रु ५० हजार राहत प्रदान गरेको हो । चितुवाको आक्रमणबाट बालक सुनारको सोमबार साँझ मृत्यु भएको थियोे ।

मृतक बालकको घरमा पुगेर आमा पवित्रा सुनारलाई राहत रकम प्रदान गरिएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले दिए ।  चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराइनेछ । गाउँमा भएको छेवरको भोज खाएर फर्कने क्रममा चितुवाले बालकलाई आक्रमण गरेको थियो ।

आमासँगै रहेका बेला चितुवाले बालकलाई झम्टेर लिएर गएको थियो । घर नजिकै पुग्ने बेलामा चितुवाको आक्रमणमा परेका बालकको शव घरभन्दा ८० मिटर तल खोल्सामा फेला परेको थियो । चितुवाको आक्रमणबाट तनहुँमा २० महिनाको अवधिमा नौ बालबालिकाको मृत्यु भइसकेको छ । यसअघि चितुवाको आक्रमणबाट भानु नगरपालिकामा छ, शुक्लागण्डकी नगरपालिकामा एक र आँबुखैरेनी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्दे्शिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिसको मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने नीति रहेको छ । यसअघि मृत्यु भएका सबै बालबालिकाका परिवारलाई राहत रकम प्रदान गरिसकेको डिभिजन वन कार्यालयले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस