मुलुक ‘सिमेन्ट’ मा आत्मनिर्भर

पत्रपत्रिकाबाट

मंगलबार, १४ माघ २०७६, ०७ : २३
मुलुक ‘सिमेन्ट’ मा आत्मनिर्भर

काठमाडौं ।  ग्रामीण भेगमा समेत परम्परागत निर्माण शैलीको सट्टा सिमेन्ट र छडको प्रयोगमा वृद्धि भएको छ । २०७२ सालको भूकम्पपछि निर्माण सामग्रीको माग ह्वातै बढ्यो । मागसँगै सिमेन्ट कारखानामा लगानीसमेत वृद्धि भयो । फलस्वरूप आज ६५ वटा सिमेन्ट कारखाना स्वदेशमा छन् । नेपाल सिमेन्टमा आत्मनिर्भर मात्र भएको छैन निर्यात गर्न हैसियतमा समेत पुगेको छ ।

भूकम्पपछि बलियो घर बनाउनुपर्छ भन्ने चेतनाको विकास भएसँगै निर्माणमा सिमेन्ट र छड माग बढेको व्यापारी बताउँछन् । पक्की घर निर्माण भएपछि पीभीसी पाइप र टायलको पनि बजार विस्तार भएको छ । अरू उत्पादनमूलक उद्योगहरू सुस्ताएको बेला यो क्षेत्रमा भने चम्किरहेको छ ।

नेपाली सिमेन्ट तथा क्लिंकर उत्पादकले मुलुक सिमेन्ट तथा क्लिंकरमा आत्मनिर्भर भएको भए पनि आयात भने पूर्ण रूपमा रोकिएको छैन । मुलुकभित्रका क्लिंकर तथा सिमेन्ट उद्योगहरूले मागभन्दा बढी क्षमतामा उत्पादन गरिरहँदा पनि चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा यी वस्तु आयातका लागि नेपालबाट १ अर्ब ९९ करोड ९ लाख रुपैयाँ बाहिरिएको छ । यद्यपि, नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकलाई केलाउने हो भने गत वर्षको पहिलो पाँच महिनाको तुलनामा ७५ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७५-७६ को सोही अवधिमा ८ अर्ब ५ करोड १४ लाख रुपैयाँको सिमेन्ट भारतबाट मात्र आयात भएको देखिएको छ ।

आर्थिक वर्ष २०७५-७६ मा कुल १२ अर्ब ९७ करोड १० लाख रुपैयाँको सिमेन्ट आयात भएको थियो भने आव २०७४-७५ मा ३१ अर्ब १७ करोड ८० लाख रुपैयाँको सिमेन्ट भारतबाट आयात भएको थियो । यी तथ्यांकलाई हेर्दा सिमेन्ट आयात कम भइरहेको देखिन्छ । पूर्वी नेपालमा सिमेन्ट उद्योग कम हुनु र भारतीय सिमेन्ट सस्तो हुनुका कारण आयात नरोकिएको सिमेन्ट उद्योगीको भनाइ छ । विशेषगरी झापामा आसामबाट सिमेन्ट आयात हुने गरेको छ ।

सिमेन्ट तथा क्लिंकर उत्पादनमा नेपाल आत्मनिर्भर भए पनि वितरण तथा ढुवानी सहज नभएकाले आयात भइरहेको अग्नि सिमेन्टका प्रबन्ध निर्देशक डा. ताराप्रसाद पोखरेल बताउँछन् । ‘सहज रूपमा ढुवानी गर्न सक्ने अवस्था नभएकाले पनि अझै सिमेन्ट भारतबाट आयात भइरहेको हो । ढुवानी सहज बनाउन सकेको खण्डमा हामी सिमेन्टमा आत्मनिर्भर भइसकेका छौं,’ उनले भने ।

अर्घाखाँची सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक पशुपति मुरारका अनुसार विदेशी कम्पनीले ठूला आयोजना बनाउँदा सोही देशकै सिमेन्ट प्रयोगमा ल्याउने गरेकाले पनि सिमेन्ट आयात पूर्ण रूपमा नरोकिएको हो ।

नेपाल सिमेन्ट उत्पादक संघका अनुसार हाल नेपालमा १ करोड मेट्रिक टन सिमेन्टको माग छ भने कुल उत्पादन क्षमता १ करोड ७० लाख मेट्रिक टन रहेको छ । हाल नेपालमा ६५ सिमेन्ट उद्योग र करिब १८ क्लिंकर उद्योग सञ्चालनमा छन् । जसमा २ खर्बभन्दा बढी लगानी भएको छ । अर्को वर्ष साढे २ करोड उत्पादन क्षमता हुने र माग १ करोड टन मात्र हुनेछ । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रवकुमार थापाका अनुसार भारतीय सिमेन्ट सस्तो हुने भएकाले पनि आयात भइरहेको बताउँछन् ।

राजनीतिक स्थायित्वसँगै विकास निर्माणका कार्यले गति लिन थालेपछि सिमेन्टको माग बढ्दै गएको देखिन्छ । सिमेन्ट उद्योगमा स्वदेशी मात्र नभई विदेशी लगानीसमेत आकर्षित हुँदै आएको छ । सरकारले भने अहिलेसम्म कति सिमेन्ट उद्योग चाहिन्छ भने लेखा जोखा नै गरेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराई भन्छन्, ‘नेपाललाई कति सिमेन्ट उद्योग चाहिन्छ र कति उत्पादन भइरहेको छ भन्ने अध्ययन भइरहेको छ । जसले नेपालमा कति सिमेन्ट उद्योग आवश्यक छ भन्ने स्पष्ट पार्नेछ ।’

उद्योग विभागका महानिर्देशक विनोदकुमार सिंह नेपाल सिमेन्ट उद्योगमा आत्मनिर्भर भइसकेको भए पनि ठूला परियोजना र जलविद्युुत्लगायत केही क्षेत्रमा आयातित सिमेन्ट प्रयोग भइरहेकाले आयातको अवस्था देखिएको बताउँछन् । उनका अनुसार ४ प्रतिशतको हाराहारीमा विदेशी सिमेन्ट प्रयोग भइरहेको छ । नेपाली सिमेन्टभन्दा पनि भारतीय सिमेन्ट नै प्रयोग गर्ने केही आयोजनाको सोच भएका कारण ४ प्रतिशत सिमेन्ट आयात भएको उद्योगीहरूको भनाइ छ ।

क्लिंकरमा नेपालले मागभन्दा ४० प्रतिशत कम उत्पादन गर्दै आएको छ । उद्योग विभागका अनुसार ६० प्रतिशत क्लिंकर स्वदेशमै उत्पादन भइरहेको छ । देशभर १ सय १२ वटा सिमेन्ट उद्योगले उत्पादन अनुमति लिएका छन् । गत आर्थिक वर्षमा करिब ३० अर्बको क्लिंकर आयात भएको थियो ।

नेपालमा चार दशकदेखि सिमेन्ट उत्पादन सुरु भएको इतिहास छ । चार दशकअघि नेपालमा हिमाल सिमेन्टले उत्पादन थालेको थियो । १५ वर्षअघि निजी क्षेत्रले उद्योगमा लगानी गरे पनि १० वर्षपछि मात्रै यस उद्योगले गति लिन थालेको हो । यो छोटो अवधिमा नै सिमेन्ट उद्योगमा भएको प्रगतिले नेपाली उद्योगीलाई उत्साहित बनाएको छ । सिमेन्ट उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ (क्लिंकर)मा पनि देश आत्मनिर्भर हुने अवस्थामा रहेको अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक पशुपति मुररका दाबी गर्छन् ।

अर्घाखाँची सिमेन्ट एउटै मिलबाट सबैभन्दा धेरै ओपीसी सिमेन्ट उत्पादन गर्ने कम्पनीमा पर्छ । आफ्नै चुनढुंगा खानी भएको नेपालकै सबैभन्दा ठूलो ओपीसी सिमेन्ट अर्घाखाँची सिमेन्ट नै रहेको अर्घाखाँची सिमेन्ट प्रालिका सञ्चालक पशुपति मुरारका दाबी गर्छन् । यसले आफैं क्लिंकर र ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । माग बढ्दै गए पनि आपूर्ति धान्न सक्ने अवस्थामै रहेको उनी बताउँछन् ।राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस