चितुवाको आक्रमणबाट बालकको मृत्यु

सोमबार, १३ माघ २०७६, २१ : २२
चितुवाको आक्रमणबाट बालकको मृत्यु

तनहुँ । बन्दिपुर गाउँपालिका–४ लोहीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका शुकबहादुर विकका छोरा ११ वर्षीय इशाक विक सुनार रहेको प्रहरीले जनाएको छ ।

सोमबार करीब साँझ ६ बजे गाउँमा भएको छेवरको भोज खाएर घर फर्कने क्रममा आमासँगै रहेका छोरा इशानलाई बाटैबाट चितुवाले झम्टेर लगेको हो । घटनास्थलबाट करीब ८० मिटर तल उक्त बालक मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ ।

केही समयअघि पनि आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा एक बालकको मृत्यु भएको थियो । तनहुँको भानु नगरपालिकामा, शुक्लागण्डकी नगरपालिका, ब्यास नगरपालिकाको उत्तरी क्षेत्र, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाले आतङ्क मच्चाएपछि तनहुँवासीमा त्रास छाएको छ ।

चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा यस घटनासहित नौ बालबालिकाको मृत्यु भइसकेको डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस