आलेख : ‘विषादि औषधि होइन, विष हो’

शनिबार, ११ माघ २०७६, १४ : ११
आलेख : ‘विषादि औषधि होइन, विष हो’

– सोरिता आचार्य 

काठमाडौँ । विगतको झैँ  नेपाल सरकारले  यही पुस २३ गतेदेखि  २९ गतेसम्म ‘घातक विषादीको प्रयोग हटाऔं, जैविक विविधताको संरक्षण गरौं’ भन्ने नारासहित विषादी प्रयोग मुक्त सप्ताह मनायो । 
बोटविरुवा, कृषिजन्य पदार्थ, वन तथा वन पैदावार, जीव, पशुपंक्षी तथा जनस्वास्थ्यमा हानी पुर्‍याउने रोग कीरा, सुलसुले, झारपात, मुसालगायतबाट बचाउन प्रयोग गरिने प्राङ्गारिक, वनस्पति, जैविक तथा रासायनिक वस्तुलाई जीवनाशक विषादी भनिन्छ ।

नेपालमा  बालीनाली र घरमा फैलिने हानिकारक  कीरा मार्न  बिषादीको  प्रयोग बर्सेनि बढेको छ  । बर्सेनि ६ देखि ७ अर्ब सम्मको  विषादी वैधानिक तबरबाट आयात गरिन्छ, खुला सीमना छ अवैधानिक तरिकाबाट कति विषादी आउँछ कुनै लेखाजोखा छैन । ती विषादी  गाउँसहरमा  जथाभावी बेचबिखन हुने गरेको पाइन्छ   बेचबिखनको कुनै रेकर्ड अनुगमन हुँदैन सरकारले अहिले कानुन त बनाएको छ तर कुनै व्यापारी, पसले र जथाभावी प्रयोग गर्ने हरूलाई कारबाही गरियो भनेको सुनिएको छैन । त्यहि भएर  उपभोक्ताहरू  डरै नमानी आफूखुसी विषादी खरिद गरी मनलाग्दी तरिकाले हचुवा शैलीमा  प्रयोग गरेका छन् ।

गत वर्षको  नेपाल सरकारको तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष प्रतिहेक्टर ३ सय ८६ ग्राम विषादी प्रयोग हुन्छ । भारतमा भने प्रतिहेक्टर ५ सय ग्राम र चीनमा दुई किलो प्रयोग हुने गरेको छ । कृषि मन्त्रालयले भने विषादीको प्रयोगबाट हुने जोखिम न्यूनीकरणका लागि ठोस उपाय अवलम्बन गर्नुको साटो छिमेकी देश भारत र चीनमा भन्दा कम प्रयोग हुने गरेको तथ्यांकमै रमाइरहेको छ ।

धेरै उत्पादन गर्ने लोभमा किसानले  हालेको विषादीले आफू र  तरकारी खाने उपभोक्तालाई  रोगी बनाइरहेका छन् । विषादी प्रयोगपछि पर्खिनु पर्ने समयअगावै तरकारी र फलफूल बजारमा लाने गरेकाले उपभोक्ताले त्यसको मार सहनु परिरहेको छ । कृषि मन्त्रालयले विषादी प्रयोग सम्बन्धमा किसानलाई आवश्यक शिक्षा दिनै सकेको छैन।

अहिले नागरिकहरूमा जटिल रोग,  क्यान्सर मुटुरोग र  मृगौला  रोग धेरैमा  देखापर्नुमा  विषादी को ठूलो हात छ । अझ महिला पुरूष दुबैमा बाँझोपन विकराल रूपमा देखा परेको छ । विषादीले राज्यमा यति ठूलो असर गर्दा पनि शासकहरूले  हल्का रूपमा लिइरहेका छन्  । सरकार   विषादीको कारणले लागेका क्यान्सर, मुटु मृगौला रोगीलाई   उपचारमा सहयोग गर्दछ  तर   विषादी कन्ट्रोल गर्न जनचेतना फैलाउन त्यति  जोड गरेको देखिदैन ।

म आबद्द संस्था उपभोक्ता हित संरक्षण मञ्ञ्च नेपालले विगत ९ वर्षदेखि  देशको विभिन्न ठाउँमा  विषादी न्युनीकरणसम्बन्धी  उपभोक्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम  गर्दै आएको छ ।  २०७६ सालमा पनि देशको धेरै ठाउँमा  उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ।  केही समय पहिला काभ्रेमा  हाम्रो मंञ्च ले विषदीले जनस्वास्थ्यमा परेको असरबारे एक अध्ययन गरेको थियो जहाँ  १०० जनामा ८० प्रतिशतलाई  क्यान्सर, मुटु नसर्ने रोग  भेटिएको थियो  वास्तवमा भन्नु पर्दा विषादी विकराल स्थिति छ  हाम्रो देशमा दुखको कुरा  यसबारे  धेरैले चासो नै  दिँदैनन्  ।

नेपालमा उत्पादन हुने तरकारी र खाध्यन्नमा मात्र होइन, विदेशबाट आयात गरिने खाध्यन्न , तरकारीमा पनि विषादी अत्याधिक मात्रमा प्रयोग गरेको पाइन्छ । अहिलेसम्म नेपालमा विषादि मापन केन्द्र ले २९ प्ररकारका विषादीमध्ये  २ प्रकारका विषादीको मात्र परीक्षण हुने गरेको छ । जसको फाइदा विषादी हालेको सामान भित्र्याउने व्यापारीले उठाइरहेको छन् । उपभोक्ताहरू विष खाइरहेका छन् ।

गहिरिएर अनुसन्धान गर्दा  विषादीले  वातावरण र मानव स्वास्थ्यका लागि  जटिल खालको समस्या बनेको छ  ।  विषादी बेच्ने पसलहरू देशभरिमा १००० भन्दा बढि होलान्  तर  दर्ता भएका चाहिँ २०० वटा पनि छैनन्  राज्यका निकायहरूको अनुगमन देखाउने दाँत मात्र भएको छ।

हाल सालै बनेको कानुनमा  कृषि उत्पादन बढाउनका लागि विषादी प्रयोग गर्दा अब अनिवार्य रुपमा इजाजतपत्र लिनुपर्ने   छ  । जीवनाशक विषादीको उत्पादन, निकासी पैठारी, व्यवसायिक प्रयोग, भण्डारण, विक्री वितरण, ओसारपसार, प्याकिङ वा पुनः प्याकिङ वा जीवनाशक विषादी छर्कन चाहनेलाई तीन वर्षसम्मको इजाजतपत्र दिने व्यवस्था गरेको छ । तर कानुन कागजमा मात्र सीमित छ। सबैले  विषादी प्रयोग खरिद भन्डार गरिरहेका छन् । 

सरकारले विभिन्न २१ प्रकारका विषादी प्रयोगमा रोक लगाएको छ । त्यस्ता प्रतिबन्धित विषादी आयात, प्रयोग वा बिक्री वितरण गर्नेलाई एक वर्ष कैद, ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरेको  छ ।

मानवस्वास्थ्य र वातावरणमा प्रत्यक्ष असर पर्ने यस प्रकारका  बिषादि बस्तु जथाभावी बेचबिखन गर्न पाइँदैन र हुँदैन  तर हाम्रो देशमा सबै पसलेलाई छुट छ  खाद्यान्न पाइने पसलमा पनि विषादी पाइन्छ ।  यहाँ  विषादी बेच्नेसँग मात्र होइन मनलाग्दी किन्ने र मनलाग्दी मात्रामा  प्रयोग गर्ने  किसान र उपभोक्तामा पनि सचेतनाको कमी छ । सरकारले  झाडा टार्ने शैलीले होइन, परिणाम देखिने गरी  जनस्तरमा  । विषादीबारे व्यापक जनचेतना फैलाउनु पर्दछ साथै बिक्रि र खरिदमा रेकड राख्ने ब्यवस्था गरि   कडाइ  गर्नु पर्दछ।

उपभोक्ता हरूले यो बुझ्नु पर्छ कि  विषादी औषधि होइन, विष हो यसको सही मात्रा र परिणाममा प्रयोग गरे यसले राम्रै काम  गर्छ नत्र हामीलाई नै असर गर्छ । मृत्युको मुखमा लैजान्छ।  गाउँ सहरका किसान तथा  उपभोक्ताहरूले   विषादीको गुण चिनेर प्रयोग गर्ने बानी गरेर आफू र अरूको स्वास्थ्य  जोगाउन अग्रसर हुनु पर्दछ।

सरकारले पनि जनचेतना, अनुगमन  र  कानुन विपरीत आयात बिक्री र प्रयोग गर्नेहरूलाई  देखिने गरी  कडा कारबाही  गर्नु पर्दछ नत्र विषादि सप्ताह मनाउने चलन श्राद्दमा बिरालो बाँधेको जस्तै हुनेछ ।

लेखक : अधिवक्ता तथा उपभोक्ता अधिकारकर्मी हुन् ।

प्रतिक्रिया दिनुहोस