"अष्ट्रेलियाको आगो निभाउन कोटिहोम महायज्ञ गरी पानी पार्न सकिन्छ"

सूर्यप्रकाश कँडेल

मंगलबार, ०७ माघ २०७६, १७ : १४
"अष्ट्रेलियाको आगो निभाउन कोटिहोम महायज्ञ गरी पानी पार्न सकिन्छ"

नेपालकै इतिहासमा पहिलोपटक चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा माघ ११ गतेदेखि फागुन ११ गतेसम्म एक सय आठ कुण्डीय कोटिहोम विराट मासिक ज्ञान महायज्ञ हुँदैछ । कोटिहोम महायज्ञ मूल आयोजक समारोह समिति र भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिको आयोजनामा कोटिहोम महायज्ञ हुन लागेको हो ।

ऐतिहासिक एक सय आठ कुण्डीय कोटिहोम महायज्ञका संकल्पकर्ता हुन् नवलपुरको त्रिवेणीधामस्थित कोटिहोम पीठाधीश धर्मपाल श्री गुरु वशिष्ठ । उनी जलवायु परिवर्तनको असरलाई महायज्ञले कम गर्न सकिने दाबी गर्छन् ।

प्रस्तुत छ, सफल खबर डट कमका समाचार सम्पादक सूर्यप्रकाश कँडेलले कोटिहोम महायज्ञ आयोजनाको सन्दर्भमा कोटिहोम पीठाधीश धर्मपाल श्री गुरु वशिष्ठसँग गरेको कुराकानी :

हाम्रो समाजमा मंसिरदेखि फागुनसम्म विभिन्न किसिमका महायज्ञको आयोजना हुँदै आएको छ । तपाइँले संकल्प गर्नु भएको एकमहिने कोटिहोम महायज्ञ कस्तो खालको हो ?

ठूलो यज्ञलाई महायज्ञ भनिएको हो । वेदले प्रतिपादन गरेको यज्ञ वा महायज्ञ ऋषिमुनिहरुले आदिकालदेखि गर्दै आएका छन् । यज्ञमा अन्नादि र वनस्पति हवन गरिन्छ । यज्ञको बलले वर्षा हुन्छ । वर्षाले अन्न उत्पन्न हुन्छ र यज्ञ सम्पन्न हुन्छ । कोटिहोम भनेको एक करोड पटकभन्दा बढी हवन गर्नु हो । कुण्डमा हवन गरिन्छ । नेपालमा तीन कुण्डीयसम्मको कोटिहोम महायज्ञ भएका छन् । हामीले नेपालमा पहिलोपटक एक सय आठ कुण्डीय कोटिहोम महायज्ञ गर्दैछौँ ।

कोटिहोम महायज्ञ आयोजना गर्नुको मूल उद्देश्य के हो ?

नारायणी नदी किनारमा माघ ११ गतेदेखि फागुन ११ गतेसम्म एक सय आठ कुण्डीय कोटिहोम विराट मासिक ज्ञान महायज्ञ हुँदैछ । यसको आयोजनाको मूल उद्देश्य विश्वशान्ति हो, जलवायु परिवर्तनको प्रभावलाई कम गर्नु हो । हाम्रो शरीरलाई चाहिने तत्व ब्रह्माण्डलाई पनि चाहिन्छ । यज्ञकुण्डमा चरु हवन गरेर ब्रह्माण्डलाई आवश्यक तत्व पु¥याउनु पर्छ । यसैको लागि कोटिहोम महायज्ञमा २१ किसिमका समिधा (दाउरा) बालेर तिल, सस्र्युं, सूर्यमुखी लगायतका ११ किसिमका तैलीय पदार्थ, ५६ किसिमका अन्न र वनस्पति हवन गर्दैछौँ ।

पछिल्लो समय पृथ्वीको तापमान बढिरहेको छ भनेर विज्ञानले नै पुष्टि गरिसकेको छ । यो सबै जलवायु परिवर्तनको असर हो भनेर वैज्ञानिकहरुले भनेका छन् । जलवायु परिवर्तनको असरलाई महायज्ञले कम गर्न सक्छ । यज्ञकुण्डमा गरिने हवनले पानी पार्न सक्छ, हिमपात गराउन सक्छ । यसो गर्न सकेमा पृथ्वीको तापमानलाई कम गर्न सकिन्छ ।

तपाइँले आफ्नो जीवनमा यज्ञको बलबाट पानी पार्नु भएको छ ?

कतिपयले यो कुरा विश्वास नगर्न पनि सक्छन्, तर मैले हवनबाट पानी पारेको छु । २०७४ साल चैत २६ गते दैलेखको नाभीस्थान भन्ने ठाउँमा छ घण्टासम्म निरन्तर क्षमाहवन गर्दा पानी परेको थियो । मैले हवन गरेको २४ घण्टाभित्र पानी पर्छ भनेर पूर्वघोषणा गरी प्रयोग गरेको थिएँ, सफल भएँ ।

चार महिनादेखि अष्ट्रेलियाको जंगलमा डढेलो दन्किरहेको छ । आगो निभाउने प्रयास सफल हुन सकेको छैन । जंगलको आगो नियन्त्रणमा आएको छैन । के महायज्ञको आयोजना गरेर अष्ट्रेलियामा पानी पार्न सकिन्छ ?

अवश्य सकिन्छ । वैदिक विधिविधानले मन्त्रोच्चारण र चरु हवन गर्न सकियो भने अष्ट्रेलियाको अग्नि प्रभावित क्षेत्रमै कोटिहोम महायज्ञको आयोजना गरी पानी पार्न सकिन्छ । अष्ट्रेलियाको आगलागी पनि जलवायु परिवर्तनको असर हो । विश्वका सबै देशमा कोटिहोम महायज्ञको आयोजना हुनु पर्छ । अनिमात्र जलवायु परिवर्तनको समस्या समाधान हुन्छ ।

महायज्ञमा हिन्दू धर्मका पण्डितले वैदिक विधिविधान अनुसार हवन गर्छन् । यसबाट अन्य धर्मावलम्बीलाई के फाइदा हुन्छ ?

जगतको कल्याणको लागि कोटिहोम महायज्ञ गर्न लागिएको हो । मन्त्रको शक्ति, चरुको शक्ति र कुण्डको शक्तिबाट विश्वशान्तिका लागि महायज्ञ गर्न लागिएको हो । जलवायुको असर सबै धर्मावलम्बीलाई पर्छ । अन्य धर्मावलम्बीले पनि महायज्ञमा सहभागी हुन, सहयोग गर्नु हुन अनुरोध छ ।

महायज्ञमा हवन गर्दा अन्नलाई डढाएर खरानी पारिन्छ । विश्वमा भोकमरीले गर्दा खान नपाएर मानिस मरेका छन् । हाम्रै देशका दुर्गम गाउँठाउँमा पनि अन्नको अभाव छ । एकातिर अन्नको अभावमा मानिस रोगी हुने, मर्ने अनि अर्कोतिर अन्न जलाएर नष्ट गर्ने काम विरोधाभाषपूर्ण देखिन्छ । अन्नलाई पोल्नु राम्रो हो र ?

वैदिक परम्परा अनुसार हवन गर्दा अन्नभन्दा वनस्पतिजन्य पदार्थ बढी प्रयोग गर्नु पर्छ । अन्नादिको हवन कम गर्नु पर्छ । घिउ भने हवनमा अनिवार्य हुन्छ । यज्ञकुण्डमा गरिने हवनले तापक्रम र प्रदूषण घटाउने वैदिक मान्यता छ । वैज्ञानिकहरुले यसको विज्ञानसम्मत परीक्षण गर्न सक्छन् । यसका लागि हामीले नासाका वैज्ञानिकलाई पनि निमन्त्रणा पठाएका छौँ । सम्भवत कोही आउन पनि सक्नु हुन्छ ।

महायज्ञको आयोजना भन्नेबित्तिकै अर्थ संकलनको कुरा अगाडि आउँछ । महायज्ञमा आर्थिक सहयोग गर्ने दानवीरहरुलाई दान रकम अनुसारको सम्मान गर्ने कार्यक्रम पनि रहेछ । खर्च कटाएर बचेको रकम के गर्नु हुन्छ ?

हामीले महायज्ञको शेष रकमबाट भरतपुर महानगरपालिका वडा नम्बर २३, जगतपुरस्थित पशुपतिनाथ मन्दिरलाई बृहत धामको रुपमा विकास गर्ने लक्ष्य लिएका छौँ । उक्त धाममा आयुर्वेदिक शिक्षालय स्थापना गर्ने र क्यान्सरपीडित विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्य अनुरुप यज्ञशेषको उपयोग गरिने छ ।

प्रतिक्रिया दिनुहोस