हेटौँडा राजधानीको विपक्षमा थिए नेकपा सचिवालयकै तीन नेता

सफल खबर संवाददाता

शुक्रबार, ०३ माघ २०७६, १२ : ०८
हेटौँडा राजधानीको विपक्षमा थिए नेकपा सचिवालयकै तीन नेता

काठमाडौं । वागमती प्रदेशको नाम र राजधानी तोक्ने बेला नेकपा सचिवालयमा तीन नेता राजधानीका विषयमा विपक्षमा रहेको खुलेको छ । नेकपा सचिवालयले सर्वसम्मत निर्णय गरेको भनिए पनि नेकपाका दुई वरिष्ठ नेता र एक सचिवालय सदस्यले राजधानीका विषयमा विपक्षमा आफनो धारणा राखेको खुलेको हो ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल र प्रस्तावित उपाध्यक्ष वामदेव गौतम हेटौँडा राजधानीको विपक्षमा रहेका थिए । उनीहरुले सचिवालय बैठकमा हेटौँडा राजधानी उपयुक्त नभएको भन्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ३ को राजधानी हेटाँडा बनाउन ल्याएको प्रस्तावको विपक्षमा मत व्यक्त गरेका थिए ।

सचिवालयका ९ सदस्यमध्ये अन्य ६ नेता राजधानी हेटौँडा बनाउनु पर्ने पक्षमा थिए । त्यही आधारमा सचिवालयले हेटौँडालाई राजधानी र नाम वागमती राख्ने निर्णय लिएको थियो ।

तर नेकपा सचिवालय भित्र भएको यो समिकरणका विषयमा भने सञ्चारमाध्यममा समाचार आएन । कहीँ कतै त्यसका बारेमा चर्चा पनि भएन । नेता गौतमले अहिले उनलाई भेट्न पुगेका नेता कार्यकर्ताका बीचमा आफूहरु हेटौँडाको विपक्षमा मत राखेको भए पनि त्यो विषय समाचारका रुपमा मात्र नआएको बताउन थालेका छन् ।

‘प्रदेश ३ को नाम र राजधानीका विषयमा सचिवालयमा छलफल गरेको विषयमा एउटा विषय सञ्चारमाध्यमबाट बाहिर आउँदै आएन,’ उनलाई भेटरे फर्केका एक नेकपा नेताले उनको भनाइ उदधृत गर्दै भने, ‘झलनाथजी, माधव कमरेड र मैले  (वामदेव) हेटौँडा राजधानी बनाउने प्रस्तावको विपक्षमा बोलेका थियौँ, उहाँहरु ६ जनाले हेटौँडा बनाउनुपर्छ भन्नुभयो, त्यसपछि त्यो निर्णय भएको हो ।’

केन्द्रले यो निर्णय गरेपछि प्रदेश सभामा पनि नेकपा संसदहरुका बीचमा गर्मागर्मी बहस भएको थियो । अन्ततः असन्तुष्ट नेताहरुलाई पार्टी अध्यक्षद्वयले बालुवाटार बोलाएर पार्टी निर्णय मान्न निर्देशन दिएका थिए । त्यसपछि २७ पुसमा बसेको प्रदेश सभा ३ को बैठकले प्रदेशको नाम वागमती र राजधानी हेटौँडा बनाउने निर्णय लिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस