थाहा पाउँदापाउँदै गल्ती गरेँ : प्रदेश सांसद चौलागाई

सफल खबर संवाददाता

आइतबार, २७ पुस २०७६, १७ : ०८
थाहा पाउँदापाउँदै गल्ती गरेँ : प्रदेश सांसद चौलागाई

काठमाडौं । नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद पशुपति चौलागाईले प्रदेश ३ को राजधानी तोक्ने क्रममा आफुले आफ्नै विरुद्ध मतदान गरेको बताएका छन् । आईतबार प्रदेश ३ को राजधानी तोक्ने क्रममा हेटौडाको प्रस्तावको पक्षमा मतदान गरेका चौलागाईले मतदानपछि फेसबुक पेजमार्फत असन्तुष्टि पोखेका हुन् ।  

चौलागाइले ‘मनमोहन अधिकारी, जननेता मदन भण्डारी जस्ता अग्रजले नेतृत्व गरि निर्माण भएको यो विशाल कार्यकर्ताको संलग्नता रहेको पार्टी हजारौंले वलिदानी गरेर शशस्त्र र शान्तिपूर्ण आन्दोलनका अनेक रूपहरूलाई प्रयोग गर्दै यहाँ सम्म आईपुग्दा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको चरणमा आवश्यक पर्ने संरचनाहरू निर्माणको यो अभियानमा जनमत, संविधानको भावना, भूगोल,जनसंख्या, शशस्त्र र शान्तिपुर्ण जनआन्दोलनको माध्यमवाट प्राप्त संघियताको मर्म विपरित आज मैले मेरै विरूद्द समेत मतदान गरें’ फेसबुकमा लेखेका छन् ।  

चौलागाइले स्व. मदन भण्डारीको जीवनसाथी सम्माननीय राष्ट्रपति, झापा आन्दोलनको एक संस्थापक युग पुरूष प्रम तथा पार्टी अध्यक्ष र सशस्त्र विद्रोहका नायक पार्टी अध्यक्ष भएको वेलामा समेत जनमतको भावनाको प्रतिनिधित्व गर्न नपाएको बताएका छन् । 

‘तत्कालिन मालेको पार्टी सदस्य एमाले हुदैं ४० वर्षको राजनितिक यात्रामा अनेकौं गल्ती कमजोरी भए होलान् तर जानेर र थाहा पाउँदापाउँदै गल्ती गरेँजस्तो लाग्दैन !! तर आज मलाई नेकपाको केस र प्रदेश सभा सदस्यको नाताले जे निर्णय गर्नुपरयो आफ्नै कामप्रति दुखित छु । काभ्रेमा प्रदेशको राजधानी राख्ने कुरामा मत दिन सकिन !!! क्षमा चाहान्छु’, चौलागाईले दुख व्यक्त गर्दै क्षमा समेत मागेका छन् । ‘४० वर्षको यात्रा आफुमाथीको पार्टीको लगानी र आन्दोलनमा आफ्नो लगानी यसलाई नकार्न सकिन’ चौलागाईले अन्त्यमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस