अभाव हुन नदिन नेपालमै ग्याँस ‘बोटलिङ, रिफिलिङ प्लान्ट

पत्रपत्रिकाबाट

आइतबार, २७ पुस २०७६, ०८ : २६
अभाव हुन नदिन  नेपालमै ग्याँस ‘बोटलिङ, रिफिलिङ प्लान्ट

काठमाडौँ । एलपी ग्यासको भण्डारण क्षमता विस्तार तथा आफ्नै लोगोमा ग्यास उत्पादन सुरु गर्न नेपाल आयल निगमले ग्यास ‘बोटलिङ, रिफिलिङ प्लान्ट’ र भण्डारण गृह निर्माण गर्ने भएको छ । यस निर्माण कार्यका लागि निगमले आशय पत्र माग गरिसकेको छ ।

नेपाल आयल निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले आगामी दिनमा मुलुकमा एलपी ग्यास अभाव हुन नदिने बताउनुभयो । उहाँका अनुसार, निगमले आफ्नै ब्रान्डमा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने उद्देश्यसहित झापाको चारआली र धनुषाको महेन्द्रनगरमा ग्यास ‘बोटलिङ तथा रिफिलिङ प्लान्ट’ निर्माण प्रक्रिया सुरु गरेको छ ।

उहाँका अनुसार सो कारखाना परिसरमा ग्यास बुलेट भर्ने र झार्ने व्यवस्था समेतको पूर्वाधार निर्माण गरिनेछ । झापामा २९ बिघा र जनकपुरमा १० बिघा जग्गा निगमको स्वामित्वमा रहेको छ । झापा र जनकपुरमा तीन÷तीन हजार मेट्रिक टन क्षमताका ग्यास भण्डारण गृह निर्माण गर्ने योजना निगमको छ । अहिले निगमसँग ग्यास भण्डारण गृह छैन ।

उहाँले पुस २६ गते निगमको ५०औँ वार्षिकोत्सवमा बिक्री वितरण गर्ने ग्यासको लोगो सार्वजनिक गर्ने जानकारीसमेत दिनुभयो । उहाँले खुला अर्थतन्त्रमा निगमले आफ्नै ब्रान्डमा ग्यास सिलिन्डर उत्पादन गरी प्रतिस्पर्धा र बिक्री वितरण गर्नेछ, एलपी ग्यासमा अब राज्यको आफ्नै उपस्थिति हुनेछ । खुला अर्थतन्त्रको नीति अनुसार खाना पकाउने ग्यासको उत्पादन, ब्रान्डिङ र बजारीकरणमा सरकारी स्वामित्वको ‘एनओसी ब्रान्ड’ मा बजारमा ग्यास सिलिन्डर आउनेछ भन्नुभयो ।

निगमका प्रवक्ता गोइतले ग्यास बोटलिङ, रिफिलिङ प्लान्ट र भण्डारण गृह निर्माणका लागि सम्भाव्यता अध्ययनको प्रक्रिया अगाडि बढाइसकिएको छ । त्यसका लागि आशय पत्रसमेत माग गरिसकिएको जानकारी दिनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस