कमिसनको चक्करले वन निगममा काठ सिजनिङ र ट्रिटमेन्ट केमिकल प्रयोगविहिन

करोडौं लगानी गरी निर्माण भएको पलान्ट पनि अलपत्र

सफल खबर संवाददाता

शुक्रबार, २५ पुस २०७६, १८ : ०२
कमिसनको चक्करले वन निगममा काठ सिजनिङ र ट्रिटमेन्ट केमिकल प्रयोगविहिन

चितवन । योजना बिनै लाखौं मूल्यको केमिकल खरिद गरेपछि नेपाल वन निगम चितवनमा लाखौं मूल्यको स्वास्थ्यका लागि घातक केमिकल बेवारीसे बनेको छ ।

हाल नेपाल वन निगमका नाममा नामाकरण गरिएको तत्कालिन द टिम्बर कर्पोरेसन नेपाल लिमिटेड चितवनले नरम जातका काठलाई सिजनिङ र ट्रिटमेन्ट गर्ने भनि ९ हजार केजी केमिकल ल्याएर कार्यालय परिसरमा बेबारिसे बनाएको हो ।

कार्यालयले प्लान्टको सही सञ्चालन गर्न नसक्दा लाखौं मूल्य बरावरको केमिकल यसै थन्किएको छ । सिजनिङ र ट्रिटमेन्टका लागि कार्यालयले प्रतिकेजी ६१० रुपैयाँको हाराहारीमा पर्ने ९ हजार केजी केमिकल ल्याएर कार्यालय परिसरमा थुपारेको छ । जसको मूल्यमात्रै ५४ लाख रुपैयाँ भन्दा बढी पर्न आउँछ ।

कार्यालयमा कार्यरत कर्मचारीहरुको लापरबाही र गैर जिम्मेवारीका कारण करोडौं लगानी गरी निर्माण भएको काठ सिजनिङ र ट्रिटमेन्ट प्लान्ट पनि अहिले प्रयोगविहीन भईरहेको छ ।

कमिसन पाउने लोभमा पलान्टलाई सञ्चालन गर्ने आवश्यक तयारी बिनै हतार हतारमा लाखौं मूल्यको केमिकल भित्र्याइएको त्यहींका अधिकारीहरु बताउँछन् । अहिले यहाँका अधिकारीहरुसँग न त केमिकल व्यवस्थापनको कुनै योजना छ । न त पलान्ट सन्चालनको नै । यतिमात्र होइन लामो समयदेखि यो कार्यालयले काठ समेत विक्री गर्न सकेको छैन ।

अर्थ मन्त्रालयको २ करोड ५० लाख अनुदानमा गत असार मसान्तभित्रै निर्माण पूरा भएको  प्लान्ट संचालन नहुँदा अलपत्र जस्तै बनेको हो । अर्थ मन्त्रालयको सहयोगमा एक वर्ष अगाडि नरम जातका काठलाई सिजनिङ र ट्रिटमेन्ट गरी गुणस्तर वृद्धि गर्ने उद्देश्यसहित सरकारी स्तरबाट नेपालमा नै पहिलोपटक निर्माण भएको यो प्लान्ट अहिले अलपत्र छ ।

आफूहरुले वार्षिक योजनामा ६२ हजार ५ सय क्युफिट नरम जातका काठ सिजनिङ र ट्रिटमेन्ट गर्ने लक्ष्य राखेकाले त्यसका लागि चाहिने ९ हजार केजी केमिकल ल्याएर थुपारेको कार्यालयका वरिष्ठ सहायक एवं सिजनिङ र ट्रिटमेन्टको जिम्मा पाउनु भएका हिमलाल बरालले बताउनु भयो ।

आफूहरुकोमा नरम जातका काठको अभाव भएको, मानिसहरुले सिजनिङ र ट्रिटमेन्ट गरेका काठको उपयोगिता नजानेको र तयार गरिएका काठ पनि नबिकेका कारणले गर्दा प्लान्ट संचालन गर्न नसकिएको बरालको भनाई छ ।

पहाडी जिल्लाबाट नरम जातका काठ ल्याएर सिजनिङ र ट्रिटमेन्ट गरी बिक्री गर्न सके प्लान्टको प्रभावकारिता बढ्ने बराल बताउनु हुन्छ । प्लान्ट संचालन कसरी गर्न सकिन्छ ? त्यतातर्फ जिम्मेवार अधिकारकीले ध्यान लगाउनभन्दा पनि कसरी बढीभन्दा बढी केमिकल भित्र्याएर कमिसन खान सकिन्छ भन्नेतर्फ जिम्मेवार अधिकारीहरुको ध्यान गएकाले पनि प्लान्ट संचालनमा समस्या आएको एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

चल्दै नचलेको प्लान्टका लागि लाखौंको केमिकल भित्र्याएर कमिसनको खेल भएको हुन सक्ने उनको ठहर छ । यो विषयमा कार्यालयका प्रमुख प्रदिप निरौलाले आफूभन्दा अघिल्लो कार्यालय प्रमुखको पालामा केमिकल खरिद भएकाले आफूलाई खास जानकारी नभएको बताउनु भयो । पलान्ट सञ्चालनका विषयमा भने आफूहरुको छलफल भइरहेको उहाँ बताउनु हुन्छ ।
 

प्रतिक्रिया दिनुहोस