सुनको मूल्य पुनः ओरालो लाग्यो

सफल खबर संवाददाता

शुक्रबार, २५ पुस २०७६, १२ : ५३
सुनको मूल्य पुनः ओरालो लाग्यो

काठमाडौँ । पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले घटेको छ । बुधबारको तुलनामा बिहीबार पनि प्रतितोला रु एक हजारले सुनको मूल्य घटेको थियो । 

आज छापावाला सुनको मूल्य प्रतितोला रु ७४ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ३०० पुगेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला र ७५ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार २०० पुगेको थियो । यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ । बिहीबारको तुलनामा रु १५ ले घटेर चाँदीको मूल्य प्रतितोला रु ८८५ पुगेको छ । 

नेपालको इतिहासमा बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । महासङ्घले बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु ७६ हजार ५०० र तेजावी सुनको मूल्य प्रतितोला रु ७६ हजार २०० निर्धारण गरेको थियो ।

सामान्य उतारचढावका बीच कारोवार भइरहेको सुनको मूल्य अमेरिका र इरानका बीचमा तनाव देखिन थालेपछि एकाएक उच्च वृद्धि भएको थियो । अहिले अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य वृद्धि भएको छ । आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ५४९.९५ र चाँदीको मूल्य प्रतिऔँस १७.९२ अमेरिकी डलरमा झरेको छ । 

विश्व बजारमा सोमबार सुनको मूल्य प्रतिऔँस एक हजार ५७३.५० अमेरिकी डलर पुगेको थियो । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएकाले स्वभाविकरुपमा त्यसको प्रभाव नेपाली बजारमा परेको महासङ्घले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस