‘अवैध उत्खननको विरोध गर्ने युवालाई टिपरले किचेर मार्यो’

सफल खबर संवाददाता

शुक्रबार, २५ पुस २०७६, ११ : ३०
‘अवैध उत्खननको विरोध गर्ने युवालाई टिपरले किचेर मार्यो’

धनुषा । अवैध उत्खननको विरोध गर्ने २४ वर्षिय एक युवकको धनुषामा टिपरले किचेर मारेको  छ । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरमा शुक्रबार बिहानै टिपरले स्थानिय युवा दिलिप कुमार महतोलाई ठक्कर दिएको थियो ।

महतोले श्रीपुरस्थित औरही खोलाको बगरमानदि जन्य पदार्थ उत्खनन गर्न पाईदैन भनेर विरोध गरेपछि ना ७ ख ६४१३ नम्बरको टिपरका चालकले उनलाई ठक्कर हानेको थियो । ठक्कर लगत्तै महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालकसँग भनाभन भएपछि टिपरले किचेर उनको हत्या गरिएको स्थानीयको भनाइ छ । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार मृतक महतो बिहानै साथीहरुसँग नदीकै बाटो ‘मर्निङ वाक’ मा थिए ।

एकाबिहानै खोलातिर टिपर गएको देखेपछि रोकेर अवैध उत्खनन् नगर्न सुझाव दिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै यादवले बताए । युवकको हत्या विरोधमा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन ।

प्रतिक्रिया दिनुहोस