विभिन्न स्थानमा भएको दुर्घटनामा ८ को मृत्यु, २० घाईते

सफल खबर संवाददाता

विहीबार, २४ पुस २०७६, २१ : ००
विभिन्न स्थानमा भएको दुर्घटनामा ८ को मृत्यु, २० घाईते

काठमाडौं, २४ पुस ।  मुलुकका विभिन्न जिल्लामा आज भएको दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक, रौतहट, सल्यान र झापामा यसरी दुर्घटना भएको हो ।

काभ्रेपलाञ्चोक, पनौती नगरपालिका ११ थुम्कीस्थित सडकमा बाटो निर्माण गर्ने क्रममा अनटेस्ट लेखिएको स्काईभेटर सडकबाट करिब ३ सय मिटर तल सलान्दु खोलामा खसेर आज दुर्घटना हुँदा स्काईभेटरमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पनौती नगरपालिका ११ बस्ने १४ वर्र्षीय राउत केसी र सिन्धुपाल्चोक घर भई काभ्रे पनौती नगरपालिका बस्ने १५ वर्र्षीय रोशन भण्डारी रहेका छन् ।

दुर्घटनामा घाइते भएका स्काभेटर चालक २७ वर्र्षीय जीवन ताम्राकारलाई उपचारका लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ । यसैगरी काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका ९ पानाञ्चेस्थित सडकमा बा ५ च ५०७४ नम्बरको बलेरो गाडी सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना हुँदा बलेरो गाडीमा सवार सोही ठाउँ बस्ने कृष्ण बहादुर राना मगरको १२ वर्षीय छोरा अनिल रानामगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैगरी काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका २ सेल्फी डाँडास्थित बिपी राजमार्गमा सडक विभाग वल्ड वाईल्ड कन्स्ट्रक्सन प्रालि काठमाडौंको बा २ क ५ नम्बरको टिपर सडकबाट करिब २ सय ५० फिट तल खसेर आज दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा टिपर चालक मकवानपुर टिस्टुङ पालुङ बस्ने २३ वर्र्षीय अश्विन विष्ट र ललितपुर चुनिखेल बस्ने २२ वर्षीय विशाल खडका रहेका छन् ।

उता रौतहट, वृन्दावन नगरपालिका ७ धमौरास्थित सडकमा ना ७ त ६१६९ नम्बरको ट्याक्टरले आज ठक्कर दिँदा पैदलयात्री देवाही गोनाही नगरपालिका ४ बस्ने ३५ वर्र्षीया मिरादेवी पटेलको मृत्यु भएको छ । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता सल्यान, बनगार कुपिण्डे नगरपालिका ११ बालुवासङग्रहीमा भे १ ख २५७३ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेर आज दुर्घटना हुँदा बस चालक सुर्खेत भेरी गंगा नगरपालिका १ बस्ने ३४ वर्षीय प्रकाश शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगञ्ज नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य १४ जनाको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ भने अन्य ३ जनाको नेपालगञ्ज नर्सिङहोममा उपचार भइरहेको छ ।

उता झापा, कमल गाउँपालिका ३ रतुवामाई सामुदायिक वनमा बुधबार मे ११ प २७५ नम्बरको मोटरसाइकलले थिचिएर ईलाम चुलाचुली गाउँपालिका २ बस्ने २१ वर्षीय अर्जुन तिवारीको मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।