मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले सुकुम्वासी परिवारका लागि पक्की घर निमार्ण गर्ने भएको छ । इच्छाकामना गाँउपालिका–७ भालुमारा सुन्दरबस्तीमा रहेका ४६ सुकुम्वासी परिवारका लागि गाउँपालिकाले पक्की घर निर्माण गर्न लागेको हो ।
गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बुधबार एक कार्यक्रमकाबीच सो घरको शिलान्यास गर्नुभयो । सो अवसरमा अध्यक्ष गुरुङले वर्षौंदेखि चुहिने झुपडीमा बसेकाका लागि जग्गाको व्यवस्थासहित घर बनाइदिन लागेको बताउनुभयो ।
उहाँले शौचालय र खानेपानीको सुविधासहित घर निर्माण गरी एकीकृत नमूना बस्ती बनाउन लागिएको उल्लेख गर्दै हरेक नागरिकको सुरक्षित आवासका लागि गाउँपालिकाले यो योजना अघि बढाएको बताउनुभयो ।
वडा नंं. ७ का वडाध्यक्ष बमबहादुर थापा ‘विजय’ ले यो बस्तीमा ४६ घरधुरीमध्ये ३५ परिवार चेपाङ समुदायका छन् भने अन्य दलित र तामाङ समुदायका रहेको जानकारी दिनुभयो । वर्षौंदेखि चुहिने झुपडीमा बस्दै आएका उनीहरु गाउँपालिकाले घर बनाइदिने भएपछि खुशी भएका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २४ पुस २०७६, ०९ : १०
लेखकबाट थप