काठमाडौ । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा आज बिहानैदेखि पुनः डोजर प्रयोग गरी घरटहरा भत्काउने काम सुरु गरिने भएको छ।
शनिबार साँझ स्थानीयको अवरोधका कारण रोकिएको संरचना हटाउने अभियान आइतबार थप सुरक्षा सतर्कतासहित अघि बढाउन लागिएको हो।
यसअघि घरटहरा हटाउने क्रममा बस्तीका केही बासिन्दाले ढुङ्गा, इँटा र बोतल प्रहार गर्दा २२ सुरक्षाकर्मी घाइते भएका थिए। घाइतेमध्ये नेपाल प्रहरीका ११ र सशस्त्र प्रहरीका ११ जना रहेका छन्। मध्यपुरथिमि प्रहरी वृत्तका डीएसपी नवराज ढुङ्गानासहितका सुरक्षाकर्मी उपचारपछि सामान्य अवस्थामा रहेको जनाइएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सूर्यबहादुर खड्काका अनुसार अधिकांश बासिन्दाले पहिले नै सामान सारिसकेका छन्। “शान्तिपूर्ण रूपमा संरचना हटाउने प्रयास भइरहेको छ, तर राति एक्कासि आक्रमण भएपछि केही समय काम प्रभावित भयो,” उनले भने।
मनोहरा बस्तीमा करिब ७७७ घरटहरा रहेको अनुमान छ। स्थानीयका अनुसार यहाँका धेरै घर भाडामा लगाइएका छन् भने केही टहरा र पक्की घर बिक्रीसमेत गरिएको थियो। बस्तीका बासिन्दाले आफूहरूको दीर्घकालीन व्यवस्थापनको माग गरेका छन्। शनिबार थापाथली र गैरीगाउँको संरचना भने शान्तिपूर्णरुपमा हटाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ बैशाख २०८३, ०६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थापाथलीस्थित सुकुम्वासी वस्तीमा चल्यो डोजर
सुकुम्वासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन
थापाथली बस्ती पुगे सांसद आरेन राई, सुकुम्वासीको पक्षमा रहने प्रतिबद्धता
बस्तीमा डोजर चलेपछि सुकुम्वासीले गरे प्रहरीमाथि ढुंगामुढा