कारागार भवन जिर्ण, कैदी बन्दी जोखिममा

पत्रपत्रिकाबाट

विहीबार, २४ पुस २०७६, ०७ : ११
कारागार भवन जिर्ण,  कैदी बन्दी जोखिममा

भैरहवा । ८६ वर्षअघि निर्माण भएको रूपन्देही जिल्ला कारागार भवन जीर्ण बनेको छ। १९९० सालमा निर्माण भएको कारागारका दुई भवन जीर्ण छन्। भवन जीर्ण हुँदा कैदी–बन्दी जोखिममा छन्।

जिल्ला कारागार कार्यालय, रूपन्देहीका प्रमुख एवं जेलर नारायण पन्थीले कारागार भवन जीर्ण भएकाले नयाँ भवन बनाउन आवश्यक भएको बताउँछन्। कारागार भवन सानो भएकाले कैदी–बन्दीले समस्या भोग्नुपरेको उनले बताए। ‘कारागार सानो भएकाले कैदी–बन्दीले खुलारूपले बस्न पाएका छैनन्,’ उनले भने, ‘जसले गर्दा कैदी–बन्दीबाट राज्य लिन सक्ने श्रम पनि लिन सकेको छैन।’

क्षमताभन्दा तेब्बर कैदी–बन्दी
जिल्ला कारागार, रूपन्देहीमा क्षमताभन्दा तेब्बर कैदी–बन्दी राखिएका छन्। १५० क्षमताको कारागारमा अहिले ४२० कैदी–बन्दी छन्। कारागारमा सबैभन्दा बढी लागूऔषध मुद्दाका १ सय ३३ बन्दी छन्।

यस्तै, कर्तव्य ज्यान मुद्दाका ५३, जवरजस्ती करणी मुद्दाका ६१, चोरी मुद्दाका ४४, डाका–चोरी मुद्दाका ७, जिउ मास्ने–बेच्ने मुद्दाका १०, सवारी ज्यान मु्द्दाका २८, ज्यान मार्ने उद्योग मुद्दाका १४ अपहरण तथा शरीर बन्धक मुद्दाका ९ सहित ३२ मुद्दाका कैदी–बन्दी छन्।

कारागारमा क्षमताभन्दा बढी कैदी–बन्दी राखिँदा व्यवस्थापनमा समस्या हुने गरेको कारागार प्रशासनले जनाएको छ।कारागारका चौकीदार भोला सहानी कारागारमा क्षमताभन्दा बढी कैदी–बन्दी राखिँदा उनीहरूलाई समस्या हुने गरेको बताउँछन्।

‘कारागारमा कैदी–बन्दीको चापले बेलाबेला उनीहरूको स्वास्थ्यमा समस्या देखिने गरेको छ,’ उनले भने। कारागार क्षेत्र सानो भएकाले कैदी–बन्दीले सीपमूलक काम गर्न नसकेको कारागार प्रशासनले जनाएको छ।

पछिल्लो समय सरकारले कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने भने पनि रूपन्देहीको हकमा भने यो लागू हुन सकेको छैन। महिला थुनुवा कक्ष नहुँदा महिला बन्दीलाई बाहिरी जिल्ला पठाउने गरिएको जेलर पन्थीले बताए।

उनका अनुसार महिला बन्दीलाई पाल्पा र नवलपरासी पठाउने गरिएको छ। कारागार प्रशासनको हालत पनि उस्तै छ। १३ जनाको दरबन्दी भएको कार्यालयमा कर्मचारी बस्ने भवनसमेत स्तरीय नभएको कारागार प्रशासनले जनाएको छ। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस