मुगु । समयमै स्वास्थ्य संस्था र एक्बुलेन्स सेवाका लागि सम्पर्क गर्न नपाउँदा यहाँ एक महिलाको मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१० जिउला गाउँकी ३५ वर्षीया धनरुपा विकको बुधबार बिहान सुत्केरी भएपछि अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको हो ।
थप उपचारका लागि जिल्ला अस्पताल लैजान एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न नसक्दा उपचार नपाएर उहाँको अकालमै ज्यान गएको श्रीमान् रामबहादुर विकले बताउनुभयो । ‘घरमै सुत्केरी भए पनि सालनाल नभएको र अत्यधिक रक्तश्राव भएपछि छिटो जिल्ला अस्पतालमा पु¥याउन नगरपालिका र जिल्ला अस्पतालका एम्बुलेन्सलाई खबर गर्न खोज्यौँ, मोबाइलका टावर नहुँदा सम्पर्क हुन सकेन, बोकेरै अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भयो’, रामबहादुरले भन्नुभयो ।
आमाको बाटैमा मृत्यु भएपछि नवजात बच्चाको विचल्ली भएको छ । लगातारको हिमपातले गत बिहीबारबाट मुगु र हुम्ला जिल्ला सञ्चारविहीन भएको छन् । सञ्चार अभावकै कारण समयमै अस्पताल पु¥याउन नसक्दा महिलाको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका छन् ।
मृतक विकको गाउँबाट जिल्ला अस्पताल तीन घण्टाको पैदल दूरीमा टाढा रहेको छ । विकले यसपटक पांचौ सन्तान जन्माउनुभएको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हालसम्म ६ सय ५९ गर्भवती तथा सुत्केरीको हवाई उद्धार
घरमै सुत्केरी भए कालो टीका !
जाजरकोटमा चिसोका कारण २४ दिनकी सुत्केरीको मृत्यु
भरतपुर अस्पतालमा सुत्केरी हुन आउने गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया
बागलुङमा बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि
समयमा स्वास्थ्य संस्था नपुग्दा अकालमै जान्छ सुत्केरीको ज्यान