दमौली । चितुवाको आक्रमणबाट ज्यान गुमाउने तनहुँको भानु नगरपालिकास्थित दुई बालकका परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत उपलब्ध गराएको छ । चितुवाको आक्रमणबाट मृत्यु भएका भानु नगरपालिका–१ जामुनेगैह्राका तीन वर्षीय आशिष बानियाँ र –२ फुस्रेटारका सात वर्षीय ऋतिक रोकाको परिवारलाई वन कार्यालयले जनही रु नौ लाख ५० हजार उपलब्ध गराएको हो ।
कार्यालयले घटनालगत्तै किरिया खर्चबापत रु ५०/५० हजार पीडित परिवारलाई प्रदान गरेको थियो । बानियाँको गत असोज २१ गते र रोकाको कात्तिक ११ गते चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।
नगरपालिकाका प्रमुख उदयराज गौली, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र वन कार्यालयका प्रमुख केदार बरालले राहत रकम आज बानियाँका बुबा विष्णुबहादुर र रोकाका आमा सिर्जनालाई प्रदान गर्नुभयो । नगरपालिकाका प्रमुख गौलीले राहत रकमले पीडित परिवारलाई केही सहयोग पुग्ने बताउनुभयो । डेढ वर्षमा भानुमा मात्रै ६ बालबालिकाको मृत्यु भइसकेकाले अझै पनि सतर्कता अपनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । “हाल भानुमा चितुवाको आक्रमण रोकिए पनि ढुक्कसँग बस्नसक्ने अवस्था छैन,” गौलीले भन्नुभयो ।
डिभिजन वन प्रमुख बरालले विपद्को अवस्थामा राज्य जनताको साथमा छ भन्ने अनुभूति दिलाउन राहत रकम उपलब्ध गराइएको जानकारी दिनुभयो ।
वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तु क्षतिको राहत निर्देशिका बमोजिम वन्यजन्तुको आक्रमणमा परि मानिसको मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने उल्लेख छ । वन कार्यालय तनहुँले भानुमा चितुवाको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई राहतस्वरुप रु १०÷१० लाख प्रदान गरिसकेको छ ।
त्यस्तै आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएका आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगर र पुस १४ गते चितुवाको आक्रमणबाट मृत्यु भएका शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका रविन नेपालीको परिवारलाई तत्कालै रु ५० हजार राहत उपलब्ध गराइएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २१ पुस २०७६, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे
तनहुँको बन्दीपुरमा चितुवा आतङ्क, सावधानी अपनाउन आग्रह
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाले आक्रमण गर्दा बालकको मृत्यु
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
पाल्पामा मृत भेटियो चितुवा