वन्यजन्तुको अंग (अखेटोपहार) खरिदबिक्री गर्दागर्दै १३ जना तस्करको गिरोह रङ्गेहात पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १८ पुस २०७६, १० : ०७
वन्यजन्तुको अंग (अखेटोपहार) खरिदबिक्री गर्दागर्दै १३ जना तस्करको गिरोह रङ्गेहात पक्राउ

काठमाडौँ । दुर्लभ वन्यजन्तुको अंगप्रत्यंग (अखेटोपहार) खरिदविक्री गरिरहेकै अवस्थामा १३ जना तस्करको गिरोह पक्राउ परेको छ । विशेष सूचनाको आधारमा तस्करहरुलाई काठमाडौँको विभिन्न क्षेत्रबाट प्रहरीले रङ्गेहात पक्राउ गरेको हो । तस्करहरुको साथबाट चितुवाको छाला, भालुको पित्त, सालकको खपटा बरामद गरिएको छ ।

काठमाडौँको भाटभटेनीबाट दुर्लभ वन्यजन्तुको छालासहित चार जना पक्राउ परे ।  उनीहरुले अवैध रुपमा ओसारपसार गरी यहाँ ल्याएर खरिदबिक्री गर्न लागेको अवस्थामा वन्यजन्तुको छाला बरामद गरी पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) का प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए । 

पक्राउ पर्नेमा महोत्तरी बर्दिबासका सिंहबहादुर मोक्तान, मकवानपुर बकैयाका कालबहादुर जिम्बा, धादिङ खनियाबासका सुके तामाङ र सोही जिल्ला त्रिपुरासुन्दरी नगरपालिका बस्ने उमेश अधिकारी छन् । अन्य व्यक्तिहरु समेत वन्यजन्तुका अखेटोपहार कारोबारकै क्रममा पक्राउ परेका छन् ।

भालुको पित्तसहित सुकेधाराबाट पाँच पक्राउ 
विशेष खोजतलासका क्रममा काठमाडौँको सुकेधाराबाट संरक्षित वन्यजन्तु भालुको पित्तसहित पाँच जनालाई पक्राउ गरिएको छ । धादिङ सिद्धलेख गाँउपालिका बस्ने ईश्वर थपलिया, दोलखाका  ललितबहादुर विक, सोही ठाउँका राजकुमार दाहाल र यम खाती तथा बैतडीका हरिश भट्ट पक्राउ परेको सिआइवीले जनाएको छ । 

टोखाबाट चितुवाको छालासहित तीन पक्राउ
सिआईवीले काठमाण्डौँ टोखा नगरपालिका ३ ग्राण्डी एरियाबाट समेत संरक्षित वन्यजन्तु चितुवाको छालासहित तीन व्यक्ति पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिकाका सरोज ओझा, काठमाण्डौँ तारकेश्वरका सुरेन्द्र तामाङ  र  कैलाली लम्कीका कृष्ण क्षेत्री रहेको जनाइएको छ ।

त्यस्तै प्रहरीले सालकको खपटासहित एकजनालाई काठमाण्डौँको  बालुवाटारबाट पक्राउ गरेको छ । सिन्धुली तीनपाटन गाँउपालिका ७ बस्ने वर्ष २२ का कर्ण रम्तेल भन्ने कर्ण बहादुर सार्की सालकको खपटासहित पक्राउ परेका हुन् । उनको साथबाट ४ किलो खपटा बरामद गरिएको (सिआईवी) का प्रवक्ता पाण्डेले जानकारी दिए । 

विभिन्न मितिमा पक्राउ गरिएका उनीहरुलाई आवश्यक अनुसन्धानपछि थप कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ बुझाइएको जनाइएको छ । उनीहरुलाई निकुञ्ज ऐन अन्तरगत कारवाही गरिने छ ।

प्रतिक्रिया दिनुहोस